काठमाडौं : संसदको अवरोध हटाउने विषयमा प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको आह्वानमा सोमबार बसेको शीर्ष नेताहरूको बैठक कुनै निष्कर्षमा पुग्न सकेन। बैठकमा सहभागी प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्ने अडान कायमै राखेको छ।
बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले संसद कसरी अघि बढाउने भन्ने विषयमा छलफल भए पनि कुनै निर्णय नभएको जानकारी दिए।
उनले भने, “यो बैठकपछि हामी अन्य प्रतिपक्ष दलहरूसँग पनि छलफल गर्दैछौं। अहिले छलफलमात्रै भयो। सत्तापक्ष र प्रधानमन्त्रीले संसद खोल्नुपर्छ भन्ने धारणा राख्नुभयो। गृहमन्त्री लगायतका नेताहरूले पनि संसद खोल्नुपर्नेमा जोड दिनुभयो। तर हामीले भने राजीनामा नभएसम्म संसद चल्न दिन्नौं भन्ने अडान यथावत राखेका छौं।”
प्रमुख सचेतक पाण्डेका अनुसार माओवादी केन्द्रले संसदमा उठाउँदै आएको भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको संलग्नता रहेको भन्दै राजीनामाको माग गरिरहेको छ। उनका अनुसार यो माग पूरा नभएसम्म संसद चल्न नदिने रणनीतिमा माओवादी केन्द्र अडिग रहनेछ।
२०८२ जेष्ठ १९, सोमबार