काठमाडौँ : यतिबेला नेकपा (एमाले) को सामाजिक सञ्जालको भित्तो ‘म झोले हो’ लेखिएका पोस्टरले भरिएको छ। पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान सबेरै यसलाई आफ्नो वालमा पोष्ट गरेपछि ‘झोले’ बन्ने लहर चलेको हो। अब प्रश्न उठ्छ, यो ‘झोले अभियान’ मा सामेल नहुने ‘गैर-झोले’ हरूको हालत के हुने हो? कतै कारबाहीको डन्डा पो चल्ने हो कि?
प्रधानमन्त्री ओलीले पोस्टर सेयर गर्दै लेखेका छन्, “हिजोआज एउटालाई भगवान् बनाउनुपर्यो भने सामूहिकतामा विश्वास राख्नेहरूलाई पहिले झोले भनेर लखेटिन्छ र समाजलाई भीडमा बदलिन्छ।” उहाँको आशय स्पष्ट छ – जो सामूहिकतामा विश्वास गर्छ, जो पार्टीको पछि लाग्छ, उसलाई ‘झोले’ भनिए पनि त्यो ‘गौरव’ को विषय हो। पोस्टरमा सामन्ती परिवारको दास बन्नुभन्दा देशमा परिवर्तन र विकासको झोला बोकेर हिँड्नु कयौँ गुणा उत्तम चरित्र भएको पनि उल्लेख छ।
पछिल्लो समय राजवादी आन्दोलन चर्किरहेका बेला एमालेभित्र यो ‘झोले’ ट्रेन्ड सुरु भएको देखिन्छ। प्रधानमन्त्री ओलीले शनिबार नेपाल बुद्धिजीवी परिषद्को ११ औँ राष्ट्रिय अधिवेशनमा ‘झोले हुनुमा आफूलाई गर्व लाग्छ’ भनेपछि नै यो अभियानले मूर्तरूप लिएको हो। अब नेता कार्यकर्ताहरूले ‘क्लिक’ गरेर ट्रेन्डिङमा ल्याएको यो ‘झोले अभियान’ ले एमालेभित्र कस्तो प्रभाव पार्ला, त्यो भने हेर्न बाँकी नै छ। तर, एउटा कुरा निश्चित छ, अहिलेलाई ‘झोले’ नबन्नेहरू भने ‘गैर-झोले’ को बिल्ला भिराइनबाट जोगिनलाई निकै ‘कसरत’ गरिरहेका होलान्। आखिर, सामाजिक सञ्जालको यो ‘झोले भीड’ मा आफूलाई अलग्याउने आँट कसले गर्ला र!
२०८२ जेष्ठ १९, सोमबार