काठमाडौ : प्रधानमन्त्री केपी शर्मा ओलीले आपसी एकता र समझदारी बढाउँदै सबै जातिको अधिकार स्थापित गरी राष्ट्रिय एकताका माध्यमबाट राष्ट्र निर्माणमा जुट्न तिमीलाई आग्रह गरेका छन्।
आदिवासी जनजाति उत्थान प्रतिष्ठानको २५ औँ सञ्चालक परिषद्को बैठकलाई आज सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पछाडि परेका जातिलाई उत्थान र क्षमतावृद्धि गरी राष्ट्रिय समृद्धिमा समावेश गर्नुपर्नेमा जोड दिएका छन्।
परिषद्का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले मुलुकमा सांस्कृतिक विविधताको महत्वमाथि प्रकाश पार्दै भनेका छन्, “मुलुकमा सांस्कृतिक थिचोमिचो भइरहेका बेला नेपालका सबै जातिहरुले आफ्नो पहिचान खोजेर त्यसलाई महत्व दिनु नेपालको सांस्कृतिक सम्पन्नताको पहिचान हो। हामीले हाम्रो संस्कृति मर्न दिनु हुँदैन।” उनले जातीय विकासको कुरा गर्दा जातीय वैमनस्यता वा चिसोपन नभई आपसी एकता, समझदारी र सामाजिक न्यायको खोजी रहेको स्पष्ट पारेका छन्। प्रधानमन्त्रीले प्रतिष्ठानलाई दलीय वा राजनीतिक मतभेदका आधारमा नभई साझा संस्थाका रुपमा अगाडि बढाउनुपर्नेमा जोड दिएका छन्।
प्रधानमन्त्री ओलीले आफूहरूले व्यवस्था परिवर्तन गरेर अवस्था सुधार गरेको जनाउँदै, देखिएका कमजोरीलाई अनुभवका आधारमा सच्याउँदै लोकतन्त्रलाई बलियो बनाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले प्रतिष्ठानको सञ्चालक परिषद्को बैठक कम्तीमा वर्षमा दुई पटक बसी समसामयिक समस्यामाथि छलफल गरेर समाधानका उपायका लागि सरकारसँग सिफारिस गर्न आग्रह गरेका छन्।
बैठकमा प्रतिष्ठानको आगामी आर्थिक वर्षका लागि बजेट र कार्यक्रम, चालु आर्थिक वर्षको समीक्षा, थप जातिको सूचीकरण लगायतका कार्यसूचीमा छलफल भएको थियो। नेपालमा हाल ३७ प्रतिशत आदिवासी जनजाति रहेका छन्।
२०८२ जेष्ठ १९, सोमबार