काठमाडौं : आज २०८१ जेठ १९ गते, नेपाली इतिहासको सबैभन्दा रहस्यमय र हृदयविदारक घटना, नारायणहिटी दरबार हत्याकाण्डको २४औँ स्मृति दिवस। २०५८ सालको यही कालो दिन, शुक्रबारको साँझ नारायणहिटी राजदरबारभित्रको एक भोज कार्यक्रम सदाका लागि त्रासदीमा परिणत भयो। तत्कालीन राजा वीरेन्द्र शाह, रानी ऐश्वर्य, अधिराजकुमार नीराजन, अधिराजकुमारी श्रुति, वीरेन्द्रका कान्छा भाइ धीरेन्द्र, र राजपरिवारका अन्य सदस्यहरू शान्ति, श्रद्धा, जयन्ती, तथा श्रद्धाका पति कुमार खड्गविक्रम शाहको बीभत्स हत्या भयो। यो घटनाले सिंगो देशलाई स्तब्ध बनायो र आजसम्म पनि त्यसको घाउ आलै छ।
घटनापछि तत्कालीन युवराज दीपेन्द्रलाई अर्ध मूर्छित अवस्थामा राजा घोषणा गरियो। अस्पतालको सघन कक्षमा जीवन र मृत्युसँग संघर्ष गरिरहेका दीपेन्द्रको अवस्था हेरी तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र शाहलाई नायबीको जिम्मेवारी दिइयो। तर, दीपेन्द्रको पनि २०५८ जेठ २२ गते निधन भएपछि ज्ञानेन्द्रलाई नै राजा घोषणा गरियो। यो नाटकीय र अप्रत्याशित सत्ता हस्तान्तरणले थप शंका र प्रश्नहरू जन्मायो।
हत्याकाण्डको छानबिनका लागि तत्कालीन प्रधानन्यायधीश केशवप्रसाद उपाध्याय र सभामुख तारानाथ रानाभाटको दुई सदस्यीय समिति गठन गरियो। उक्त समितिले दीपेन्द्रले नै सबैको हत्या गरी आत्महत्या गरेको भन्ने प्रतिवेदन सार्वजनिक गर्यो। तर, यो प्रतिवेदनलाई आम नेपाली जनताले कहिल्यै पनि स्वीकार गरेनन्। दरबारभित्र यति ठूलो नरसंहार कसरी सम्भव भयो? एकजना व्यक्तिले कसरी यति धेरै शक्तिशाली र सुरक्षा घेराभित्र रहेका व्यक्तिहरूको हत्या गर्न सक्यो? र, यदि दीपेन्द्रले नै यस्तो गरेका थिए भने त्यसको पछाडिको वास्तविक कारण के थियो? यी प्रश्नहरू २४ वर्षपछि पनि अनुत्तरित छन्।
जनताको मनमा अनेकौं शंका र उपशंकाहरू आज पनि घुमिरहेका छन्। कतिपयले यसलाई गहिरो षड्यन्त्रको उपज मान्छन् भने कतिपयले यसलाई शक्ति हत्याउने खेलका रूपमा व्याख्या गर्छन्। दरबार हत्याकाण्डले नेपाली राजनीति र समाजमा गहिरो प्रभाव पार्यो, जसले राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापनाको मार्ग प्रशस्त गर्न महत्वपूर्ण भूमिका खेल्यो।
आज यस दुखद दिनमा पूर्वराजा वीरेन्द्रको परिवार मारिएको सम्झनामा विभिन्न कार्यक्रमहरू आयोजना हुँदैछन्। के कुनै दिन यस रहस्यको पर्दाफास होला? वा यो घटना सधैँभरि नेपाली इतिहासको एउटा रहस्यमय अध्याय बनेर रहनेछ?
२०८२ जेष्ठ १९, सोमबार