काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले भोलिदेखि गणतन्त्रविरुद्ध ‘खास लडाइँ’ सुरु गर्ने चेतावनी दिएका छन्। राजावादीहरूको आन्दोलनका क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापालाई प्रहरीले नियन्त्रणमा लिएपछि लिङ्देनले यस्तो कडा प्रतिक्रिया दिएका हुन्।
‘कमल थापा लगायतलाई गिरफ्तार गरियो भन्ने सुनेको छु। नेपाल सरकार, गृहमन्त्री, प्रहरी प्रमुखलाई भद्रतापूर्वक मेरो आग्रह छ- कमल थापालाई यहीँ ल्याइदिनुस्,’ उनले भने, ‘होइन भने हामी देशभरीबाट साथीभाइलाई बोलाउँछौँ, खास लडाइँ भोलिबाट हुन्छ। अब एक ठाउँबाट भेला भएर होइन, ५० ठाउँबाट निस्किन्छौँ। अहिले भर्खर कमल थापालाई यहीँ नल्याइदिने हो भने भोलिबाट काठमाडौँ उपत्यका बन्द सुरु हुन्छ।’ लिङ्देनले गणतन्त्रलाई ‘लुटतन्त्र’ को संज्ञा दिँदै अब एक-एक गरेर नभई देशभरबाट सिंगै परिवार लिएर सडकमा उत्रिने चेतावनी पनि दिए।
उनले थपे, ‘हामीलाई कहिले यता जा भन्ने, त्यता जा भन्ने। नेतालाई गिरफ्तार गर्ने? भोलिदेखि हामी देखाउँछौँ।’ राजावादीहरूले जहाँ जान भन्यो त्यहाँ गएर प्रदर्शन गरिरहेको कुरालाई कमजोरी नठान्न पनि उनले चेतावनी दिए। ‘यो गणतन्त्र ढिलो चाँडो ढाल्ने नै हो। म प्रधानमन्त्री र गणतन्त्रवादीहरूलाई भन्छु- गइसकेको राजतन्त्र कसरी फर्किन्छ भन्नुहुन्छ। हामी देखाउँछौँ,’ उनले भने।
२०८२ जेष्ठ १८, आईतबार