+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

वाईसीएलको तेस्रो राष्ट्रिय सम्मेलन सुरु : नयाँ नेतृत्वका लागि चार जनाबीच प्रतिस्पर्धा

अत्रिदेव खबर
२०८२ जेष्ठ १८, आईतबार

काठमाडौं : नेकपा (माओवादी केन्द्र) को भातृ संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) नेपालको तेस्रो राष्ट्रिय सम्मेलन आइतबारदेखि काठमाडौंमा सुरु भएको छ। करिब २ हजार प्रतिनिधि र पर्यवेक्षक सहभागी यस सम्मेलनले नयाँ नेतृत्व चयन गर्नेछ।

सम्मेलनको उद्घाटन भइरहँदा आगामी ३ वर्षे कार्यकालको नेतृत्वका लागि चार जनाबीच प्रतिस्पर्धा देखिएको छ। वाइसीएल नेपालका अध्यक्ष सुवोध शेर्पालीको बिदाईसँगै नेतृत्वका लागि १३ जनाभन्दा बढीले दाबी गरेकोमा अन्तिममा भने चारदेखि पाँच जनाबीच मात्रै प्रतिस्पर्धा हुने देखिएको छ।

शुक्रबार बसेको पदाधिकारीको अन्तिम बैठकमा १३ जनाले अध्यक्षमा दाबी गरेका थिए। सोही बैठकमा १५ जनाले उपाध्यक्षमा, चार जना महासचिवमा र केहीले उपमहासचिव, सचिव र एक जनाले कोषाध्यक्षमा दाबी गरेका छन्। सुरुमा सबैले दाबी गरे पनि प्रतिस्पर्धा हुने अवस्थामा भने चारदेखि पाँच जनाको मात्रै दाबी रहने सम्भावना देखिएको छ।अहिले वाईसीएलमा ६१ जना पदाधिकारी छन्। त्यसलाई करिब आधा घटाएर ३५ जनाको पदाधिकारी टिम बन्दैछ। वाइसीएल नेपालमा ४० वर्षे उमेर हद लगाएका कारण केही पदाधिकारी उमेर हदका कारण स्वतः बाहिरिने अवस्थामा छन्।

उमेर हदका कारण नबाहिरिएका पदाधिकारीबीच नै नेतृत्वका लागि प्रतिस्पर्धा हुने बढी सम्भावना छ। अहिले अध्यक्षका लागि उपाध्यक्ष केइरसिंह कुँवर, नवराज ऐर, पुष्प ओली, डम्बर पुलामी, प्रेम श्रेष्ठ, ठाकुर सौराग र माधव बस्नेतको दाबी छ। बैठकमा १३ जनाले अध्यक्षका लागि दाबी गरे पनि अन्तिममा कुँवर, पुलामी, ऐर, ओली र बस्नेतबीचमा प्रतिस्पर्धा हुने सम्भावना छ। ओली र कुँवर लुम्बिनी, ऐर सुदूरपश्चिम र पुलामी कोशी प्रदेशका हुन्।

पुलामी वाईसीएल कोशी प्रदेशका इन्चार्ज हुन् भने कुँवर उपाध्यक्षको टिममा वरिष्ठ हुन्। उपाध्यक्षबाट अध्यक्षको दाबी गर्ने उनी एक्ला उम्मेदवार हुन्। अन्य उपाध्यक्षहरू उमेरका कारण बिदा हुँदैछन्। ऐर सुदूरपश्चिमबाट अध्यक्षमा दाबी गर्ने पहिलो हुन्। उनी सबैभन्दा कम उमेरका युवा र सक्रिय पनि मानिन्छन्। लुम्बिनीका ओली अहिले उपमहासचिव रहेकाले उनी पदाधिकारीमा दोस्रो वरिष्ठ तहका उम्मेदवार हुन्। उनी वाईसीएलको प्रचार प्रसार विभाग प्रमुख भएर काम गरिरहेका छन्। पुलामी कोशी प्रदेशको वाईसीएल इन्चार्ज हुन्। माओवादीको जनमुक्ति सेनाबाट वाईसीएलमा आएका पुलामीको तल्लो तहमा राम्रो रहेको बताइन्छ।

सम्मेलनले सर्वसम्मत नेतृत्व चयन गर्न सकेको अवस्थामा कुँवर, पुलामी र ओलीमध्ये एक जना अध्यक्ष चयन हुने सम्भावना छ। अध्यक्ष कुँवर, पुलामी र ओलीमा एक जना हुँदा दुई जना उपाध्यक्ष बनाउने र ऐरलाई महासचिव बनाउने तयारी पनि भइरहेको छ। महासचिवमा अहिलेसम्म हरि ढकाल, सन्तोष पनेरु, शिव बोगटी, धनकुमार मैनाली, शोभाराम भण्डारी, कुमार आचार्य र शंकर पौडेलको दाबी छ। यद्यपि महासचिवमा ढकाल पनि बलियो उम्मेदवारका रूपमा प्रस्तुत भइरहेका छन्।

उपाध्यक्षमा सुनील सुनार, मोहित विक, मनिषा चदारा, शर्मिला तामाङ, अनु कुँवर, रीतमान पुन, अखिल शाही, नवीन खड्का, अविलास लामा, अर्जुन साउद लगायतको दाबी छ। यस्तै उपमहासचिवमा शिला नेपाली, अनन्तप्रकाश श्रेष्ठ, सानन अधिकारीको दाबी छ। कोषाध्यक्षमा भने एक जना राजीव गिरीको मात्रै दाबी छ। शुक्रबारको अन्तिम पदाधिकारी बैठकमा गिरीको मात्रै कोषाध्यक्षमा दाबी थियो।

पार्टी अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्मा गरेर तीन जना नेताले आ-आफ्नो पक्षबाट वाईसीएलको नेतृत्वमा ल्याउन खोजिरहेका छन्। जसमा अहिले प्रचण्डको पक्षबाट ओली, कुँवर, पुलामी र बस्नेत गरेर चार जना उम्मेदवार छन्। प्रचण्डपक्षमा पुलामी, ओली र कुँवरबीच नै प्रतिस्पर्धा रहेको बताइन्छ। यसमा इन्चार्ज रामप्रसाद सापकोटाको पनि महत्वपूर्ण भूमिका रहेको बताइन्छ। वरिष्ठ उपाध्यक्ष श्रेष्ठको पक्षबाट एक जना प्रेम श्रेष्ठ अध्यक्षका उम्मेदवार छन्। उपाध्यक्ष श्रेष्ठ निकट श्रेष्ठले पनि अध्यक्षमा प्रतिस्पर्धा गर्ने घोषणा गरिसकेका छन्। उपमहासचिव शर्मा पक्षमा अध्यक्षमा नवराज ऐर र गणेश शाही दुई जना अध्यक्षका आकांक्षी छन्।

२०८२ जेष्ठ १८, आईतबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ १८, आईतबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ