जनकपुर : प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश प्रदेश सरकारको गौरवको योजनाका रूपमा अघि सारिएको ‘एक निर्वाचन क्षेत्र : एक सडक’ कार्यक्रम अन्तर्गत ६४ वटा सडकको एकैपटक शिलान्यास गर्नुभएको छ।
धनुषा जिल्लाको जनकपुरस्थित महेन्द्रनारायण निधि सभागृहमा आज आयोजित विशेष समारोहमा प्रधानमन्त्री ओलीले विद्युतीय माध्यमबाट ती सडक योजनाहरूको शिलान्यास गर्नुभयो। कार्यक्रममा प्रदेश सरकार अन्तर्गतको भौतिक पूर्वाधार विकास मन्त्रालयको आयोजनामा सडक पूर्वाधार विस्तारका लागि यो ऐतिहासिक कदम अघि बढाइएको हो।
प्रधानमन्त्री ओलीले आफ्नो मन्तव्यमा भन्नुभयो, “समान विकास र समावेशी पहुँच सुनिश्चित गर्न प्रत्येक निर्वाचन क्षेत्रमा कम्तिमा एक मुख्य सडक निर्माणको यो अभियान ऐतिहासिक छ। यसले मधेश प्रदेशको आर्थिक, सामाजिक र भौगोलिक रूपान्तरणमा टेवा पुर्याउनेछ।”कार्यक्रममा संघीय तथा प्रदेश सरकारका मन्त्री, जनप्रतिनिधि, स्थानीय निकायका प्रतिनिधि, प्राविधिकहरू र सर्वसाधारणको उपस्थिति रहेको थियो।
यो योजनाले मधेश प्रदेशको यातायात प्रणाली सुदृढ गर्दै गाउँ–सहरको सहकार्य, व्यापार–व्यवसायको सहजता, र विकासको गति बढाउने अपेक्षा गरिएको छ।
२०८२ जेष्ठ १८, आईतबार