+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्रधानमन्त्री ओली आज मधेसमा एकैदिन ६४ सडकको शिलान्यास गर्दै : १२ अर्ब ७० करोडको मेगा प्रोजेक्ट सुरु

अत्रिदेव खबर
२०८२ जेष्ठ १८, आईतबार

जनकपुरधाम :  प्रधानमन्त्री केपी शर्मा ओलीले आज मधेस प्रदेशमा एकैदिन ६४ वटा पक्की सडक निर्माण कार्यको शिलान्यास गर्दैछन्। यो मेगा प्रोजेक्टले मधेसको पूर्वाधार विकासमा महत्त्वपूर्ण आयाम थप्ने अपेक्षा गरिएको छ।

मधेस प्रदेशको राजधानी जनकपुरधामस्थित मधेस प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयबाट प्रधानमन्त्री ओलीले दिउँसो १ बजे डिजिटल प्रविधिमार्फत एकैपटक ६४ वटा सडकको शिलान्यास गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। मधेसका ८ जिल्लाका ६४ वटा प्रदेश निर्वाचन क्षेत्रमा एकएक वटाका दरले यी सडकहरू निर्माण गरिनेछन्।

भौतिक पूर्वाधार विकासमन्त्री सञ्जय यादवका अनुसार, यी सबै सडक पाँच किलोमिटरका रहनेछन् र तिनको चौडाइ साढे ५ मिटर हुनेछ। कुल ३२० किलोमिटर सडक निर्माणका लागि तीन आर्थिक वर्षमा सम्पन्न हुने गरि बहुवर्षीय खरिद गुरुयोजना स्वीकृत भई डीपीआर समेत तयार भइसकेको छ। यस परियोजनामा कुल १२ सय ७० करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। मन्त्रालयले विश्व बैंकको सहयोगमा प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रमअन्तर्गत १९८ किलोमिटर कालोपत्रे सडक निर्माण, ३२६ किलोमिटर बृहत सडक मर्मत र एक हजार किलोमिटर सडकको नियमित मर्मत सम्भार हुने पनि जनाएको छ।

प्रादेशिक सडक सञ्जाल गुरुयोजनाअन्तर्गतको ‘एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रम’को दोस्रो चरणअन्तर्गत यो विकास आयोजना सुरु हुन लागेको मन्त्री यादवले बताए। नेकपा एमालेका केन्द्रीय सदस्य कुन्दन कुशवाहाका अनुसार, प्रादेशिक क्षेत्रबाट निर्वाचित सांसदको सिफारिसका आधारमा सडकको छनोट गरिएको हो र यो कार्यक्रम सर्वदलीय सहमतिअनुसार गर्न लागिएको हो। यस वृहत् सडक निर्माण परियोजनाले मधेस प्रदेशको यातायात सञ्जाललाई सुदृढ पार्दै आर्थिक तथा सामाजिक विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

२०८२ जेष्ठ १८, आईतबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ १८, आईतबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ