काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले एकजना कर्मचारीमाथि प्रश्न उठेकै भरमा प्रतिपक्षी दलले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्नु निराधार र अनुचित भएको बताउनुभएको छ।
कान्तिपुर मिडिया ग्रुपद्वारा आयोजित ‘हाफ म्याराथुन’ को शुभारम्भपछि व्यवस्थापक र सम्पादकसँगको छलफलमा प्रधानमन्त्री ओलीले गृहमन्त्री लेखकमाथि कुनै आरोप नलागेको र कुनै निकायले छानबिन नगरेको अवस्थामा प्रतिपक्षी दलले असम्भव माग राखेर सदन अवरोध गर्न नहुने स्पष्ट पार्नुभयो।
प्रधानमन्त्रीले प्रतिपक्षीको बोल्ने र माग राख्ने अधिकारको सम्मान गर्ने बताउँदै माग राख्दा आधार हुनुपर्नेमा जोड दिनुभयो। उहाँले गृह मन्त्रालयअन्तर्गत धेरै कर्मचारी रहेको र एउटा कर्मचारीलाई अख्तियारले बोलाएको भरमा गृहमन्त्रीको राजीनामा माग्नु तर्कहीन भएको बताउनुभयो। ओलीले गत वर्षका गृहमन्त्रीको राजीनामा माग्दा सिआइबीले छानबिन गरिरहेको दृष्टान्त दिँदै अहिले त्यस्तो अवस्था नरहेको र यो विरोध ‘निहुँ नपाएर निहुँ खोजिएको’ मात्र भएको टिप्पणी गर्नुभयो।
संसद्मा प्रस्तुत बजेटका सन्दर्भमा कान्तिपुरका सम्पादकले सोधेको प्रश्नमा प्रधानमन्त्री ओलीले यसपटकको बजेट यथार्थपरक र सम्भव हुने हिसाबले आएको बताउनुभयो। उहाँले सरकारलाई ‘पपुलिस्ट’ हुनु नभई राम्रा काम गर्नु रहेको र यथार्थभन्दा बाहिर गएर बजेट ल्याउनु अर्थतन्त्रलाई विनाशको बाटोमा लैजानु भएको स्पष्ट पार्नुभयो। गत वर्ष बिना आधार ७ हजार आयोजना बढाइएको र माइनस २४ प्रतिशत राजस्वलाई ३० प्रतिशतमा लाने निराधार प्रक्षेपण गरिएकोमा आफ्नो सरकारले त्यस्तो नगर्ने उहाँको भनाइ थियो।
प्रधानमन्त्रीले सरकारले पहिला पूर्वाधार विकासमा जोड दिएको र अब सामाजिक सुरक्षा, सुशासन र विकासमा ध्यान केन्द्रित गरेको जानकारी दिनुभयो।प्रधानमन्त्री ओलीले खेल क्षेत्रले हरेक मानिसलाई जोड्ने र क्रियाशीलता बढाउने बताउँदै हाफ म्याराथुन आयोजनाका लागि कान्तिपुरलाई धन्यवाद दिनुभयो।
२०८२ जेष्ठ १७, शनिबार