काठमाडौं : दुई दिनदेखि संसद् अवरोधका कारण चर्को दबाबमा परेका गृहमन्त्री रमेश लेखकले आफूमाथि लागेका आरोपहरूको जवाफ पत्रकार सम्मेलनमार्फत दिने तयारी गरेका छन्। विपक्षी दलहरूले उनको राजीनामा माग्दै संसद् चल्न नदिएपछि लेखकले यो विकल्प रोजेका हुन्।
गृहमन्त्री लेखकको सचिवालयका सदस्य लोकेन्द्र भट्टका अनुसार यदि विपक्षीको अवरोध जारी रहे, गृहमन्त्रीले संसद् बाहिर नै पत्रकार सम्मेलन गरेर आफ्नो भनाइ राख्नेछन्। “विपक्षीको अवरोध जारी रहे उहाँले पत्रकार सम्मेलन गरेर आफ्नो कुरा राख्नुहुन्छ,” भट्टले भने, “नत्र संसद्मै जवाफ दिनुहुन्छ।”
नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पनि गृहमन्त्रीको राजीनामा माग्दै विपक्षी दलहरूले गरेको संसद् अवरोधलाई ‘अनुचित’ बताएका छन्। संसद् स्थगित भएपछि गृहमन्त्री लेखकसँग भएको कुराकानी उद्धृत गर्दै खतिवडाले भने, “यहाँ बोल्न दिए ठिकै छ, नभए प्रेस कन्फरेन्स गर्छु भन्ने उहाँको कुरा छ। अहिलेसम्मको अवस्थामा राजीनामा दिने भन्ने छैन।”
यता, विपक्षी दलहरू भने गृहमन्त्रीको जवाफ मात्र नभई उनले राजीनामा दिनुपर्ने र घटनाको छानबिनका लागि संसदीय समिति गठन गरिनुपर्ने मागमा अडिग छन्। यद्यपि, सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा एमाले भने अहिलेसम्म यस मागमा सहमत भएका छैनन्। गृहमन्त्रीको यस कदमले संसद्को गतिरोध तोड्न कतिको सफल हुन्छ, त्यो हेर्न बाँकी नै छ।
२०८२ जेष्ठ १४, बुधबार