काठमाडौं : आफ्ना जीवनभरको पसिना जस्तै जम्मा गरेको बचत रकम फिर्ता पाउन नसकेपछि सहकारी पीडितहरू आक्रोशित बनेका छन्। आज काठमाडौंको माइतीघर मण्डलामा उनीहरूले अर्धनग्न प्रदर्शन गर्दै सरकारसँग न्यायको माग गरेका छन्।
“हाम्रो पसिना रगत बगाएर कमाएको पैसा हडप्नेहरूलाई कारबाही गर!” भन्ने नारासहित पीडितहरूले आन्दोलित मुद्रामा सडकमा उत्रिएका थिए। उनीहरूले सहकारीहरूमा भएको अनियमितता र ठगीका घटनामा राज्यको बेवास्ताको गम्भीर आरोप लगाउँदै, दोषीहरूलाई कडाभन्दा कडा कारबाही गर्न माग गरेका छन्।
महिलादेखि वृद्धसम्मको सहभागिता रहेको प्रदर्शनले माइतीघर क्षेत्र केही समय अस्तव्यस्त बनाएको थियो। सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराउन अर्धनग्न शैली अपनाएको प्रदर्शनकारीहरूले बताएका छन्।
सहकारी मुद्दामा राज्यले तदारुकता नदेखाए थप कडा संघर्षका कार्यक्रम घोषणा गरिने चेतावनीसमेत उनीहरूले दिएका छन्।
२०८२ बैशाख १५, सोमबार