सुर्खेत : उच्च अदालत सुर्खेतले पछिल्ला तीन आर्थिक वर्षमा २ हजारभन्दा बढी मुद्दाको छिनोफानो गरेको छ। अदालतको तथ्यांकअनुसार, आर्थिक वर्ष २०७९/८० देखि चालु आर्थिक वर्ष २०८१/८२ को जेठ २१ गतेसम्म कुल २,२९१ मुद्दा दर्ता भएकामा २,१२५ मुद्दा फर्छ्योट भएका छन्। यो प्रगति उच्च अदालत सुर्खेतको क्षेत्राधिकारमा पर्ने कर्णालीका पाँच जिल्लाको समग्र अवस्था हो।
उच्च अदालत सुर्खेतले आफ्नो मुद्दा फर्छ्योट क्षमतामा निरन्तर सुधार देखाएको छ। न्यायाधीश मदन पोख्रेलले जानकारी दिएअनुसार, चालु आर्थिक वर्षमा कुल १,००० नयाँ मुद्दा दर्ता हुने अनुमान गरिए पनि असार मसान्तसम्म ७१२ मुद्दा फर्छ्योट गर्ने लक्ष्य राखिएको छ।
पछिल्ला वर्षहरूको तथ्यांक: आर्थिक वर्ष २०७९/८०: कुल ९२२ मुद्दा दर्ता (२४६ अघिल्लो वर्षका जिम्मेवारी सरेकासहित), जसमध्ये ७६२ मुद्दा फर्छ्योट भए। आर्थिक वर्ष २०८०/८१: कुल ९१६ मुद्दा दर्ता (७५६ नयाँ र १६० जिम्मेवारी सरेकासहित), जसमध्ये ७५४ मुद्दा फर्छ्योट भए। चालु आर्थिक वर्ष २०८१/८२ (जेठ २१ सम्म): कुल ७७५ मुद्दा दर्ता (१६२ जिम्मेवारी सरेका र ६१३ नयाँसहित), जसमध्ये ६०९ मुद्दा फर्छ्योट भएका छन्। हाल १६६ मुद्दा किनारा लाग्न बाँकी छन्।न्यायाधीश पोख्रेलका अनुसार, हालसम्म जिम्मेवारी सरेर आएका १६२ थान मुद्दा अर्थात् ७८.५८ प्रतिशत फर्छ्योट भइसकेका छन्। चालु आर्थिक वर्षको वार्षिक फर्छ्योट लक्ष्यको तुलनामा जेठ २१ सम्म ८५.५४ प्रतिशत मुद्दा किनारा लागिसकेको छ।
कर्णालीमा बढ्दै सामाजिक अपराध
मुद्दा फर्छ्योटमा प्रगति भए पनि उच्च अदालत सुर्खेतको तथ्यांकले कर्णालीमा सामाजिक अपराधका घटनामा चिन्ताजनक वृद्धि देखाएको छ। चालु आर्थिक वर्ष २०८१/८२ मा सामाजिक विग्रहसँग सम्बन्धित मुद्दाहरू ह्वात्तै बढेका छन्, जसले कर्णालीमा सामाजिक सद्भाव र एकतामा चुनौती थपेको उच्च अदालत सुर्खेतका कायममुकायम मुख्य न्यायाधीश कृष्णलाल भट्टराईले बताए।
चालु आर्थिक वर्षमा देखिएका प्रमुख सामाजिक अपराधका प्रवृत्तिहरू (साउनदेखि जेठ २१ सम्म) जबर्जस्ती करणी सर्वाधिक १३१ मुद्दा दर्ता, जसमध्ये ११३ फर्छ्योट भए पनि १८ मुद्दा विचाराधीन छन्। कर्तव्य ज्यान १०८ मुद्दा दर्ता, ७५ फर्छ्योट भई ३३ किनारा लाग्न बाँकी।लागुऔषध ७३ मुद्दा दर्ता, ५६ फर्छ्योट भई १७ विचाराधीन। विवाह सम्बन्धी कसुर ६१ मुद्दा दर्ता, २६ फर्छ्योट, ३५ किनारा लाग्न बाँकी। चोरी ४५ मुद्दा दर्ता, ३८ फर्छ्योट, ७ विचाराधीन।जातीय छुवाछुत ३१ मुद्दा दर्ता, २९ फर्छ्योट भई २ किनारा लाग्न बाँकी। वन तथा वन्यजन्तु १७ मुद्दा दर्ता, ५ किनारा लाग्यो, १२ विचाराधीन। हातहतियार खरखजना ६ मुद्दा दर्ता, ४ फर्छ्योट, २ किनारा लाग्न बाँकी। मानव बेचबिखन तथा ओसारपसार ५ मुद्दा दर्ता, ३ फर्छ्योट, २ विचाराधीन। यस अवधिमा ९४ रिट निवेदन दर्ता भएकामा ७६ फर्छ्योट भई १८ रिट बाँकी छन्। अन्य शीर्षकमा २०४ मुद्दा दर्ता हुँदा १८४ फर्छ्योट भई २० मुद्दा उच्च अदालतमा विचाराधीन अवस्थामा छन्।
उच्च अदालतले चालु आर्थिक वर्षमा १७१ थुनुवा प्रतिवादी भएका मुद्दामध्ये १३२ मुद्दा फर्छ्योट गरेको छ। थुनुवा प्रतिवादी भएका ४२ मुद्दा भने अझै फर्छ्योट हुन बाँकी छन्। न्यायाधीश पोख्रेलका अनुसार, मुद्दा फर्छ्योट भई पनि १४ बालबालिका, दुई महिला र ३२ पुरुष गरी ४८ व्यक्ति हाल थुनामा छन्।
२०८२ जेष्ठ २३, शुक्रबार