काठमाडौँ: रमेश लेखक राजीनामा प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदमा आक्रामक भूमिका खेलेपछि सरकारले रास्वपा सभापति रवि लामिछानेलाई रुपन्देही कारागारबाट डिल्लीबजार कारागारमा स्थानान्तरण गर्ने तयारी गरेको छ। लामिछानेको काठमाडौँ स्थानान्तरणले राजनीतिक लेनदेन र वार्ताको मार्ग प्रशस्त हुने अड्कलबाजी गरिएको छ।
स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीकै चाहनामा लामिछानेको सरुवा हुन लागेको हो। रमेश लेखक प्रकरणमा नेकपा (माओवादी केन्द्र) सँगै रास्वपाले पनि छानबिन र राजीनामाको माग पूरा नभएसम्म संसद् अवरोधलाई निरन्तरता दिने अडान लिएपछि सरकारले लामिछानेको सरुवामा चासो देखाएको हो। राजनीतिक व्यक्तिहरू आपराधिक अभियोगमा डिल्लीबजार जेलमा हुँदा रेशम चौधरीलगायत कतिपय केसमा मोलतोल र बार्गेनिङ सहज भएको विगतको अनुभव छ।
लामिछानेलाई डिल्लीबजार कारागार ल्याउन प्रक्रिया अगाडि बढाइएको छ। सरुवाका लागि लामिछाने पक्षीय वकिलले रुपन्देही जिल्ला अदालतबाट अनुमति लिइसकेका छन्। केन्द्रीय कारागार विभागबाट अनुमति पाएलगत्तै उनी काठमाडौँ सरुवा हुनेछन्। लामिछानेलाई डिल्लीबजार कारागारमा गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नै रहेको ब्लकमा राख्ने तयारी रहेको बुझिएको छ। सहकारी प्रकरणमा लामिछाने गत चैत २२ गतेदेखि पूर्पक्षका लागि थुनामा छन्। लामिछानेकी पत्नी निकिता पौडेल लामिछानेले उनलाई थुनामुक्त गर्न आदेशको माग गर्दै बन्दी प्रत्यक्षीकरण मुद्दा दायर गरे पनि उनको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको थियो।
२०८२ जेष्ठ २१, बुधबार