+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

माओवादी केन्द्रको सांगठनिक विस्तार: एकताले बढायो पदाधिकारी र केन्द्रीय समितिको आकार

अत्रिदेव खबर
२०८२ जेष्ठ २०, मंगलबार

काठमाडौँ : नेकपा (माओवादी केन्द्र) को पदाधिकारी, स्थायी समिति र केन्द्रीय समितिको आकार विस्तार भएको छ। जेठ १२ गते माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी (नेसपा) को गंगानारायण श्रेष्ठ समूहबीचको एकता समायोजन र नेपाः राष्ट्रिय पार्टीको माओवादी केन्द्रमा विलय पछि पार्टीका सबै कमिटीहरूमा सदस्य संख्या बढेको हो।

सोही दिन बसेको माओवादीको पदाधिकारी बैठकले एकता प्रक्रियामा जोडिएका नेसपाका सह-अध्यक्ष गंगानारायण श्रेष्ठलाई सचिवको जिम्मेवारी दिएको छ। त्यस्तै, नेपाः राष्ट्रिय पार्टीका अध्यक्ष विजय प्रकाश सैँजुलाई स्थायी समिति सदस्य बनाउने निर्णय गरिएको छ। यसअघि माओवादीमा १ अध्यक्ष, १ वरिष्ठ उपाध्यक्ष, ३ उपाध्यक्ष, १ महासचिव, ६ उपमहासचिव, ९ सचिव र १ कोषाध्यक्ष गरी २२ जना पदाधिकारी थिए। एकता समायोजनपछि पदाधिकारीको संख्या २४ पुगेको छ। यसैगरी, स्थायी समिति सदस्यको संख्या ४३ बाट बढेर ४६ जनाको भएको छ। माओवादीले यसअघि पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनलाई उपाध्यक्ष बनाइसकेको थियो।

शनिबार माओवादीले जारी गरेको परिपत्रअनुसार गंगानारायण श्रेष्ठ समूहका १४ जनाले केन्द्रीय सदस्यको जिम्मेवारी पाएका छन्। यस्तै, जेठ १२ गते नै नेपाः राष्ट्रिय पार्टीबाट माओवादी केन्द्रमा विलय भएसँगै विष्णुभक्त गोपाली (काठमाडौँ), लक्ष्मी प्रकाश सैंजु (काठमाडौँ), सुदिल साही (काठमाडौँ) र प्रमोद घिमिरे (रौतहट) ले पनि केन्द्रीय सदस्यको जिम्मेवारी पाएका छन्। विगतमा एकता प्रक्रियामा जोडिएका तर परिपत्रमा नाम आउन बाँकी रहेका ठाकुर ढकाल (चितवन) र प्रेम बिसी (कैलाली) लाई पनि केन्द्रीय समितिको जिम्मेवारी दिइएको छ। गएको पुस २३ गते सम्पन्न केन्द्रीय समिति बैठकको निर्णयअनुसार अद्यावधिक भएको नामावलीमा चार सय ९ जना थिए। नयाँ थपिएका २२ जना केन्द्रीय सदस्यसहित अब माओवादीको केन्द्रीय सदस्यको संख्या ४३१ पुगेको छ।

माओवादी केन्द्रले पार्टी विधानको प्रावधानअनुसार कुल सदस्य संख्याको १० प्रतिशतसम्म समायोजन गर्न सकिने प्रावधानलाई तत्कालका लागि निष्क्रिय पारेको छ। पार्टी एकता, समायोजन र ध्रुवीकरणको आवश्यकता र महत्वलाई ध्यानमा राखी आगामी केन्द्रीय समिति बैठक र महाधिवेशनप्रति जवाफदेही हुने गरी उक्त प्रावधान निष्क्रिय पारिएको एक नेताले बताएका छन्। माओवादी केन्द्रीय कार्यालयका मुख्यसचिव गणेशमान पुनले पार्टी एकता र समायोजन प्रक्रियामा आएका सदस्यको हकमा १० प्रतिशतको प्रावधान लागू नहुने भएकाले यसलाई निष्क्रिय पारिएको स्पष्ट पारेका छन्। उनले हाल केन्द्रीय समिति ४०९ जनाको रहेको र नयाँ विधान केन्द्रीय समितिको हकमा महाधिवेशन भएपछि मात्र लागू हुने बताए।

 

 

 

२०८२ जेष्ठ २०, मंगलबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ २०, मंगलबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ