काठमाडौं : दरबार हत्याकाण्डमा ज्यान गुमाएका तत्कालीन राजपरिवारका सदस्यहरूको सम्झनामा हिमानी ट्रस्टले आयोजना गर्ने दीप प्रज्ज्वलन कार्यक्रमको स्थान परिवर्तन भएको छ। नारायणहिटी संग्रहालय परिसरमा गर्ने भनिएको कार्यक्रम कमलादीको गणेशस्थान मन्दिरमा सारिएको छ।
काठमाडौं प्रशासनले नारायणहिटी आसपासलाई निषेधित क्षेत्र घोषणा गरेसँगै कार्यक्रमस्थल सार्नुपरेको हिमानी ट्रस्टका कार्यक्रम संयोजक अनुज कार्कीले जानकारी दिए। कार्कीका अनुसार, सोमबार साँझ ६ बजेदेखि सुरु हुने उक्त दीप प्रज्ज्वलन कार्यक्रम अब कमलादीस्थित गणेशस्थान मन्दिरमा हुनेछ।
कार्यक्रममा पूर्वयुवराज पारस शाह, पूर्वयुवराज्ञी हिमानी शाह र उनीहरूका छोरा हृदयेन्द्र शाहसहित काठमाडौंमा उपलब्ध पूर्वराजपरिवारका सदस्यहरू सहभागी हुने कार्कीले बताए। यद्यपि, पूर्वराजा ज्ञानेन्द्र दम्पती भने झापामा रहेकाले कार्यक्रममा सहभागी हुने छैनन्।
२०८२ जेष्ठ १८, आईतबार