काठमाडौं : नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइराला र पार्टीका महामन्त्री गगन थापाबीच भेटवार्ता भएको छ। महामन्त्री थापा बालुवाटारस्थित कोइरालाको सचिवालयमै पुगेर शेखरसँग भेट गरेका हुन्।
यो भेटलाई नेपाली कांग्रेसको आन्तरिक राजनीतिमा महत्त्वपूर्ण मानिएको छ, विशेषगरी दुई नेताबीच दूरी बढेको चर्चा चलिरहेका बेला। १४ औँ महाधिवेशनमा शेखर र गगन एउटै समूहबाट चुनाव लडेका थिए, तर आगामी १५ औँ महाधिवेशनमा उनीहरू एउटै समूहमा नरहने अड्कलबाजी कांग्रेस वृत्तमा चलिरहेको छ।
कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाका अनुसार, भेटमा उपसभापति धनराज गुरुङ र सहमहामन्त्री जीवन परियार पनि सहभागी थिए। छलफलमा सरकारका गतिविधि र पार्टीको आन्तरिक विषयवस्तुबारे कुराकानी भएको थपलियाले बताए। यद्यपि, विस्तृत जानकारी भने खुलाइएको छैन।
डा. शेखर कोइरालाले आगामी १५ औँ महाधिवेशनमा पार्टी नेतृत्वको लागि तयारी थालेर देश दौडाहामा छन्। अर्कातिर, महामन्त्री गगन थापाले पनि अघोषित रूपमा नेतृत्वका लागि तयारी गरिरहेका छन्। दुवै नेताको नेतृत्व महत्त्वाकांक्षाले आगामी महाधिवेशनमा कांग्रेसभित्र नयाँ समीकरण बन्ने सम्भावना बढेको छ।
यद्यपि, कोइरालाका स्वकीय सचिव थपलियाले शेखर र गगनबीच आवश्यकताअनुसार कुराकानी भइरहेको र बाहिर चलेजस्तो छलफल नै हुन छाडेको भन्ने हल्लामा सत्यता नभएको दाबी गरे। यस भेटले उनीहरूबीचको सम्बन्धलाई पुनः सन्तुलनमा ल्याउने प्रयासका रूपमा पनि हेरिएको छ। कांग्रेसभित्रको यो भेटवार्ताले आगामी दिनमा पार्टीको आन्तरिक राजनीति कुन दिशामा जान्छ भन्नेबारे थप चासो बढाएको छ।
२०८२ जेष्ठ १६, शुक्रबार