काठमाडौ : काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा फेरि एक पटक स्थानीयको दबाबले अस्थायी सहमति गराएको छ। माछापोखरी क्षेत्रबाट नुवाकोटतर्फ जाने मार्गमा शुक्रबार बिहान फोहोरका दुई सयभन्दा बढी गाडीहरू स्थानीयको अवरोधका कारण रोकिएका थिए। कारण थियो—काठमाडौं महानगरले तरकारी बेच्न नदिएपछि आक्रोशित भएका तारकेश्वर र ककनीका स्थानीय बासिन्दाहरूको आक्रोश।
बालाजु प्रहरी वृत्तमा भएको त्रिपक्षीय छलफलपछि समस्या केही समयका लागि समाधान भएको छ। काठमाडौं महानगर, स्थानीय जनप्रतिनिधि र बासिन्दाबीच भएको सहमतिअनुसार अब माछापोखरी आसपासका सडक किनारामा बिहान ७:३० बजेसम्म तरकारी तथा स्थानीय उत्पादन बेच्न पाइनेछ। वातावरण विभाग प्रमुख सरिता राईका अनुसार, यो अस्थायी समाधान मात्रै हो र दीर्घकालीन नीति अझै तय हुन बाँकी छ।
२०६२ सालदेखि सिसडोल हुँदै हाल बन्चरेडाँडासम्मको लामो फोहोर यात्रा जनप्रतिनिधिको हेलचक्र्याइँ र दीर्घदृष्टिको अभावको साक्षी बनेको छ। संघीय सरकारले एक अर्ब रुपैयाँ लगानीमा बनाएको ल्याण्डफिल साइट वरपरका बासिन्दाहरूले समय-समयमा मुआब्जा, स्वास्थ्य र वातावरणीय संरक्षणका माग राख्दै अवरोध गरिरहेका छन्।
यस पटक अवरोध कागती गाउँमा भयो—तीन किमी वरै। जसले फेरि एक पटक देखायो, कि उपत्यकाको फोहोर व्यवस्थापन केवल सम्झौतामा अडिएको छ, नीति र दिगोपनमा होइन।
२०८२ बैशाख १९, शुक्रबार