+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

भारत-पाक युद्ध र यसले दिएको सन्देश

सोम मिश्र
२०८२ जेष्ठ ५, सोमबार

पछिल्लोसमय एकाएक आमनेसामने भएका दुई छिमेकी मुलुक भारत र पाकिस्तानबीच सङ्घर्षविरामको सहमति जुट्दा विश्व समुदायले एकपटक फेरि शान्तिको श्वास फेरेको छ । भारत-प्रशासित कश्मीरको पहलगाममा अप्रिल २२ मा सन्दिग्ध चरमपन्थी लडाकुहरूले २६ जना पर्यटकलाई गोली हानी मारिदिएको घटनाको जवाफ दिने भारतले मे ७ मा पाकिस्तान तथा पाकिस्तान-प्रशासित कश्मीरमा हवाई आक्रमण गर्‍यो। त्यसपछि पाकिस्तानले पनि ड्राेन आक्रमण गर्दा स्थिति तनावपूर्ण भएकाे थियाे ।

१. झगडाको बिउ बेलायती कानुनः भारत र पाकिस्तान बीच भएको हवाई युद्ध वार्ताद्वारा समस्या समाधान गर्ने गरी हाललाई स्थगित भएको छ। भारत पाकिस्तान बीच भएको यो पाँचौं युद्ध हो। यस अघि सन् १९४७ मा भएको कबाली युद्ध , १९६५ कश्मिरमा, १९७१ बङ्गलादेशको स्वतन्त्रताको क्रममा दुई देश भएको तेस्रो युद्ध , १९९९ मा कार्गिल युद्ध र अहिले पाँचौं पटक सीमा क्षेत्रमा भएको हवाई युद्ध । यी सबै युद्धका बावजुद पनि भारत पाकिस्तान सम्बन्धमा शान्ति आउन सकेको छैन ।

संसारभरकै छिमेकी देशहरुमा यति लामो तनावपूर्ण सम्बन्ध बिरलै पाइन्छ । आतंकवाद, धार्मिक कट्टरता र सैन्य शक्तिको होडबाजीले तनावलाई अझ बढाउँदै लगेको छ । भारत र पाकिस्तान बीचको सधैंभरिको लागि यो शत्रुतापूर्ण सम्बन्धको बिउ भने बेलायतले रोपेर छोडेको हो। यी दुई देशको तनावको मूल जड १५ अगस्त १९४७ मा बेलायती संसदले पारित गरेको भारतीय स्वतन्त्रता सम्बन्धी कानुन इण्डियन इन्डिपेण्ड्स् एक्ट, १९४७ हो। अङ्ग्रेजहरूको फुटाउ र शासन गर भन्ने नीति अन्तर्गत भारतलाई स्वतन्त्रता प्रदान गर्दा मुस्लिम लीगको माग बमोजिम पाकिस्तानको स्वतन्त्र अस्तित्व सतहमा आयो। दुई देशको विभाजन हुँदा सबै सीमाहरूको बारेमा व्यवस्थापन भएपनि जम्मु कस्मिरको बारेमा अङ्ग्रेजी कानुन मौन बस्यो। र झगडाको बिउ त्यही बन्न पुग्यो। यसको अतिरिक्त हालसम्म पनि आतंकवादी क्रियाकलाप, सिन्धु नदीको पानीको उपयोग, धार्मिक तथा राजनीतिक कट्टरता, परमाणु हतियारको होडबाजी जस्ता विषयहरु विवादको शीर्ष स्थानमा छन्।

२. ठूलो युद्ध होः धेरै मान्छेहरूको बुझाइमा यसपालिको भारत पाक युद्ध पूर्ण युद्ध नभएर तनावको उत्कर्ष वा युद्धको पूर्वाधार मात्र हो भन्ने पाइन्छ। तर मे ७ मा भारत र पाकिस्तानबीच लाइन एलओसीमा भएको भिडन्त अन्तर्राष्ट्रिय एजेन्सीहरूका अनुसार अहिलेसम्मकै संसारको सबभन्दा लामो र ठूलो हवाई युद्ध हो। यो युद्ध आकाशमा पुरै एक घण्टा लडाकु विमानहरूको बीचमा भिडन्त भएको थियो । भिडन्तमा भारततर्फ फ्रान्स निर्मित विश्व विख्यात डसल्ट राफेल, रूस र भारतको संयुक्त उत्पादन एसयु ३० एमकेआई, रुसमा निर्मित एमआजी २९ जस्ता लडाकु विमानहरू र इजरायलमा निर्मित सयौं ड्रोनहरू प्रयोग गरेका थिए।

पाकिस्तानतर्फ चीन पाकिस्तान संयुक्त उत्पादन जेएफ-१७ थण्डर, अमेरिकी उत्पादन एफ-१६ फाइटिङ फाल्काेन, पछिल्ला वर्षहरूमा विकसित चिनिया उत्पादन चेन्दु जे-१०सी र त्याक्टिकल सर्भिलियन्स वेभ्स ड्रोनहरू प्रयोग गरिएका थिए । यस युद्धमा कुल मिलाएर १२५ वटा अत्याधुनिक लडाकु विमानहरू र सयौंको सङ्ख्यामा ड्रोनहरूको प्रयोग गरिएको थियो। भिडन्तमा भारततर्फका तीनवटा राफेल लडाकु विमान एकवटा एमआईजी-२९, एसयु ३० एमकेआई र ७७ वटा ड्रोनहरू खसालिएको पाकिस्तानले दाबी गरेको छ। भने पाकिस्तानतर्फका एकवटा जेएफ-१७ थण्डर खसालिएको भारतीय दाबी रहेको छ। यसकारण यो संसारकै ठूलो हवाई युद्ध हो।

३. युद्ध सामग्री र सामरिक शक्तिको परीक्षणः २७ वर्षअगाडि कार्गिल युद्ध पश्चात दुवै देशले सामरिक शक्तिको हिसाबले सैन्यमा जल ,स्थल , हवाई सबै क्षेत्रमा धेरै लगानी र उल्लेख्य प्रगति गरेका छन्। यस अवधिमा दुवै देश आणविक अस्त्रको विकास गरेर महाशक्ति राष्ट्रको दावेदारी गरिरहेका छन्। युद्ध सम्बन्धी अध्ययन गर्ने निकाय फायर पावर इन्डेक्सका अनुसार अहिले भारतले ८६ अर्ब अमेरिकी डलर रक्षा खर्च पुर्‍याएको छ भने ५१ लाख ३० हजार सैनिक संख्या , ४२०० सैन्य ट्यांक , ५१३ लडाकु विमानसहित २२१३ विमान , ९०० हाराहारी सैनिक हेलिकप्टर तैनाथ छन् ।पाकिस्तानतर्फ १० अर्ब अमेरिकी डलर रक्षा बजेट छ। १७ लाख ४ हजार सैनिक जनशक्ति , २६२७ वटा सैनिक ट्याङ्क , ३२८ वटा लडाकु सहित १३९९ विमान र ४५० को हाराहारीमा सैनिक हेलिकप्टर छन्। भारतसँग १८० वटा परमाणु हतियार छन् भने पाकिस्तानसँग १७० वटा छन्। यिनै सामरिक शक्तिको आडमा दुवै देश आफ्नो विजयका लागि सुनिश्चित थिए। र युद्धका निम्ति तम्सिएका थिए। यसकारण पनि कि ती युद्ध सामग्री/ हतियार र विमानहरूको परीक्षण गरिनु पनि तिनका लागि आवश्यक थियो।

४. दुबैको जितः ‘अपरेसन सिन्दुर’ नाम दिइएको हमलाको सुरुवाती क्षणमै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभएको थियो ‘यसपटक आतंकवादको बिउ समेत बाँकी राखिने छैन। पाकिस्तानलाई माटोमा मिलाइनेछ’। जवाफमा पाकिस्तानी प्रधानमन्त्रीले भने ‘भारतले ठूलो गल्ती गर्यो यसको उचित जवाफ दिइनेछ’। यी दुवै भनाइहरु सुन्दा दुवैले आफ्नो जित बाहेक अरु कुरा देखेका थिएनन्। सोचेका थिएनन् ।युद्ध लम्बिँदै जाँदा स्थल युद्ध र जमिन युद्ध र पानी युद्ध पनि हुन सक्थ्यो र त्यसले आणविक शक्ति सम्पन्न राष्ट्रहरू को लामो भिडन्त भएको अवस्थामा दुवै देशमा अकल्पनीय क्षति हुने स्थिति आउन सक्थ्यो । त्यस्तो क्षतिको कल्पना मात्र पनि मानव जातिका निम्ति भयङ्कर विषय हो। अमेरिकी , बेलायती या अन्य जोसुकैको सहजीकरण भएपनि हाललाई दुवै देश , नेपाल लगायत बाँकी संसार पनि क्षतिबाट बचेको छ । भारत पाकिस्तान दुई देशको जित भएको छ। दुवै देशले आफूले युद्ध जितेको दाबी गरेका छन्

५. दुईपक्षीय सन्धिका भविष्य र पानीको राजनीतिः त्यसो त भारत र पाकिस्तान बीच युद्ध मात्रै भएका छैनन् । शान्तिवार्ता र द्विपक्षिय सम्झौताहरु पनि भएका छन्। प्राय सबै युद्धहरूमा युद्ध समाप्तिका क्षण कुनै न कुनै समझदारी वा सन्धिहरू भएका हुन्छन । तीमध्ये सिमला सम्झौता महत्वपूर्ण छ। १९७१ पछि १९७२ मा सिमला सम्झौता भएको हो। भारतको हिमाञ्चल प्रदेशको सिमला भन्ने ठाउँमा भएको हुनाले यसलाई सिमला सम्झौता भनिएको हो। दुईपक्षीय सम्झौताहरूमध्ये सबैभन्दा उत्कृष्ट र अनुकरणीय सम्झौताको रुपमा सिन्धु जल सम्झौतालाई लिन सकिन्छ। यो संसारका लागि पनि एउटा उदाहरण हो। पानीको मुद्दालाई लिएर विश्वमा ठुलठुला युद्धहरू भएका छन्। समझदारी र सम्झौताहरु पनि भएका छन्। त्यसमध्ये प्रमुख रुपमा सिन्धु जल सम्झौता भारत पाकिस्तान, नायल नदी सम्झौता इजिप्ट, सुडान र इथियोपिया, मेकोङ नदी आयोग दक्षिण पूर्वी एसिया हुन् । सिन्धु जल सम्झौता विश्व बैंकको मध्यस्ततामा भएको थियो।यो सम्झौता अन्तर्गत सिन्धु प्रणालीका छ वटा नदीहरू, सिन्धु तिब्बतको मानसरोवर क्षेत्रमा उत्पत्ति भई भारत हुँदै पाकिस्तान जाने, सतलज (सुगौली सन्धिपूर्व नेपालको सिमाना यहाँसम्म थियो) तिब्बतको मानसरोवर क्षेत्रमा उत्पत्ति भई भारतको हिमाञ्चल प्रदेश हुँदै पाकिस्तान जाने, बाँकी चार नदीहरु बेस, रावि, चुनाव, झेलम भारतमा उत्पत्ति भई पाकिस्तान प्रवेश गर्ने, को पानीको बाँडफाँट र उपयोगको विषय थियो , जो वास्तवमा अनुकरणीय मानिन्छ । तर शक्तिको उन्मादमा र प्रतिशोधको भावनामा यस्तो शान्ति तथा मैत्री सन्धि सिमाना सम्बन्धी सन्धि , जलसन्दी वा कुनै प्रकारका सन्धिहरुले पनि युद्धलाई रोक्न सक्ने स्थिति हुने रहेनछ। केवल शक्ति सन्तुलनले मात्रै युद्ध रोकिने रहेछ। सन्धिको आधारमा ढुक्क भएर बस्नु केवल मूर्ख बन्नु मात्र रहेछ।

६. यो युद्धले विश्वलाई दिएको सन्देश

क. अहिलेसम्म पश्चिममा सामरीक जगतले विश्वास र गर्व गरेको डसल्ट राफेल लडाकु विमान हो । यो आजसम्म अजय र अविजित थियो। जब यसलाई चीनमा निर्मित छेन्दु जे-१०सीले खसालिदियो हवाई युद्धमा युद्ध विश्लेषकहरूका निम्ति एउटा नयाँ घटना हुन पुग्यो। यो घटनाले अमेरिकी उपराष्ट्रपति जेडीभान र विदेशमन्त्री मार्को रुबियो उहाँहरुकै शब्दमा रातभरि निदाउन सक्नुभएन । र युद्धविरामका निम्ति रातभर पहल गर्नुभयो जसले धनजनको अकल्पनीय क्षति हुनबाट जोगियो।

ताइवान मुद्दा होस् या भविष्यका अरु कुनै विषयमा चीनको हात माथि पर्दै जाने चेतावनी यो युद्धले विश्व जगतलाई दिएको छ। विश्व शक्ति सन्तुलनमा चिनिया ध्रुवीकरण हावी हुने सम्भावना चुनौतीको रुपमा अगाडि आएको छ।

ख. अहिलेसम्म महाशक्ति राष्ट्रहरू फ्रान्स, बेलायत, अमेरिका, रूस, चीन बाहेक अरु राष्ट्रहरुलाई आणविक हतियारको विकास गर्ने छुट छैन । अन्य जति राष्ट्रहरूले आणविक हतियारको परीक्षण गर्दैछन् उनीहरुले युद्धमा प्रयोग गर्नका लागि नभएर आफ्नो आन्तरिक सुरक्षाका लागि भन्ने तर्क गरेका छन्। तर यो झुटो साबित भएको छ। आणविक हतियारहरु एक अर्का विरुद्ध जुन कुनै बेला पनि प्रयोग हुन सक्छन् भन्ने सन्देश यो युद्धले दिएको छ।

ग. युद्धको स्वरूप अब परिवर्तन भएको छ। अब जलमा, जमिनमा नभएर युद्ध आकाशमा मात्र पनि हुन थालेको छ। लडाकु विमान, ड्रोन , साइबर हमला को प्रयोगबाट युद्धमा नयाँ प्रविधिको प्रयोग र विस्तार हुँदै गएको सन्देश विश्वले प्राप्त गरेको छ।

घ. आतंकवादको जरासम्म पुगेर यसको समस्या हल नगरुन्जेलसम्म विश्वका जुन कुनै कुनामा आतङ्कवादले युद्धको परिस्थिति निम्त्याउन सक्छ भन्ने सन्देश पनि आज विश्वले बुझ्न जरुरी भएको छ ।

ङ. युद्ध जतिसुकै क्रुर, आक्रामक र भयावह भएपनि अन्तिममा शान्तिपूर्ण संवाद, छलफलका उपायहरू नै बलशाली र शक्तिशाली हुन्छन् । मध्यस्यता गर्ने अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरूले असल मनसायले चाहँदा जुनसुकै युद्ध पनि शान्ति र संवादमा फर्कन सक्छन् भन्ने सन्देश पनि विश्वले पाएको छ । युद्ध समाधानको यो मात्रै सही उपाय हो।

(लेखक सोम मिश्र अन्तर्राष्ट्रिय राजनीतिका अध्येता एवं नेकपा एमालेका केन्द्रीय सदस्य हुन्ुहुन्छ।)

 

 

 

 

२०८२ जेष्ठ ५, सोमबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ ५, सोमबार

लेखकको बारेमा

सोम मिश्र

अत्रिदेव खबर

ट्रेन्डिङ