सुखड : कैलालीको घोडाघोडी नगरपालिकाको सभाहल जनज्योतीका प्रतिनिधि, शिक्षक, विद्यार्थी, अभिभावक र स्थानीय अगुवाहरूको उत्साहपूर्ण उपस्थितिले भरिएको थियो। त्यहाँ एउटा विद्यालय सम्मानित हुँदै थियो—जनज्योति माध्यमिक विद्यालय। त्यो सम्मान कुनै सामान्य प्रशंसा पत्र थिएन; त्यो त दशकौँअघिदेखि सुरू भएको साहस, संकल्प र संघर्षको अविस्मरणीय प्रतिबिम्ब थियो। जब सम्मानपत्र विद्यालय प्रतिनिधिको हातमा हस्तान्तरण भयो, एकाएक भूतकालको त्यही संघर्षमय अध्याय मानसपटलमा झल्झल्ती देखापर्यो—जब जनज्योति स्कुल केवल सपना थियो, अनि त्यो सपना पनि धेरैका लागि असम्भव ठानिएको भ्रममात्र।
२०६० को दशक। देश संकटकालको अन्धकारमा डुबेको थियो, गाउँ–घर निराशा र अभावले थिचिएको थियो। त्यही कालो परिवेशमा हामीले शिक्षाको उज्यालो बिउ रोप्यौ—गाउँमै एउटा सशक्त र समर्पित विद्यालय खोल्ने। त्यो समय न त लगानी थियो, न भवन, न सरकारको साथ, न समाजको भरोसा। मात्र थियो त एउटा सानो सपना, त्यो पनि अप्ठ्यारो प्रश्नहरूले घेरिएको। जब समाजका अगुवाहरू, व्यापारीहरू, नेताहरूको ढोका ढकढक्याइयो, जवाफमा आयो– ‘यो स्कुल त चल्दैन’, ‘बेकारको प्रयास हो’, ‘भोलि हाँसोको पात्र बन्नेछौ।’
तर ती शब्दहरूले हामीलाई कमजोर बनाएनन्, उल्टै त्यसले आत्मबललाई अझ गहिरो बनायो। जब समाजका ढोका बन्द भए, हामी त्यस्ता घरतिर लाग्यौँ जहाँ धनी होइन, सपना थियो; सुविधाभन्दा बाँच्ने संघर्ष थियो; तर त्यही संघर्षभित्र शिक्षा प्राप्त गर्ने अदम्य चाहना थियो। गरिब अभिभावकहरूले पैसा नदिए पनि “ताउलोमा जाउलो घटाएर भएपनि चन्दा दिए।” कोही देउसी भैलीमा सामेल भए, कोही आफ्ना बालबालिकाको भविष्य हामीलाई सुम्पेर शिक्षा अभियानमा साथ दिए।
सुरुवात टाटेपाटे कक्षाकोठाबाट भयो। टिनको छाना, खरको सपोर्ट, एउटा बोर्ड र केही पुराना किताबहरू। शिक्षकको तलब रु. ५०० मात्र, त्यो पनि कहिले तिन महिनामा, कहिले छ महिनामा। तर त्यो पाँच सयले कुनै मूल्यलाई मापन गरेको थिएन—त्यो त हाम्रो सपनाको मोल थियो, अटल निष्ठाको प्रतिफल थियो।
तर अपमान भने रोकिएन। कहिले ‘टोड्के स्कुल’ भनेर होच्याइयो, कहिले शिक्षकहरूलाई उपहास गरियो। समाजको ठूलै हिस्साले हाम्रो परिश्रमलाई व्यंग्यको चश्माले हेर्यो। तर त्यो व्यंग्यले हाम्रो हिँडाइको दिशा फेरिएन। हामीले आफूलाई सस्तो सम्मानको लागि सजिएको देखाउन चाहेनौँ, हामी आफैँ सच्चा उदाहरण बन्न चाहन्थ्यौँ।
विद्यालय विस्तार हुँदै गयो, विद्यार्थी बढ्दै गए, सपना स्थिर यथार्थ बन्न थाल्यो। तर चुनौतीहरू फेरि–फेरि आइपुगिरहे। कहिले सरकारको गाभ्ने नीतिले अस्तित्व संकटमा पार्यो, कहिले रेलमार्गको सर्भेले अफवाह फैलायो कि विद्यालय विस्थापित हुन सक्छ। नगरपालिकाले अरू स्कुललाई ‘नमुना’ भन्यो, आर्थिक सहयोग दियो, तर जनज्योति फेरि पनि बेवास्तामा पर्यो। उपेक्षाले कहिलेकाहीँ मन पोल्थ्यो, तर आत्मबललाई झन् दृढ बनाइदिँथ्यो। हामी आफैँ घोषणा गर्न थाल्यौँ—हामीलाई अरूले नमुना भनून् न भनून्, हामी आफैँ उदाहरण बन्छौँ।
र, आज त्यो उदाहरण मूर्त रूपमा स्थापित भएको छ। २०८१ सालको SEE परीक्षामा जनज्योति माध्यमिक विद्यालयले ७५.९३ प्रतिशत नतिजा ल्याएर सम्पूर्ण घोडाघोडी नगरपालिकाभरि पहिलो स्थान प्राप्त गरेको छ। त्यही स्कूल, जसलाई कहिले ‘टोड्के’ भनिन्थ्यो, आज गुणस्तरीय शिक्षाको पर्याय बनेको छ। यो उपलब्धि केवल अंकको संख्यामा सीमित छैन—यो त संस्थापकहरूको त्याग, शिक्षकहरूको रात–दिनको पसिना, अभिभावकहरूको भरोसा र विद्यार्थीहरूको दृढ परिश्रमको साझा प्रतिफल हो। यो सफलता एक–एक गज्जबका कथाहरूको संकलन हो—जहाँ पराजय सम्भव देखिन्थ्यो तर विजयले बाटो बनायो।
आज जनज्योति एक प्रेरणादायी नाम हो। यसले प्रमाणित गरिदिएको छ—गाउँमा जन्मिएको सपना पनि सफल हुन सक्छ, यदि त्यो सपना साँचो हो भने; यदि त्यसलाई बोक्ने हातहरू इमानदार छन् भने। अब जनज्योति कुनै दया वा चन्दाको नाम होइन, अब यो गौरव हो—सामूहिक संकल्पको उच्चतम प्रतीक। सम्मानपत्रले हाम्रो निधारमा लागेको ‘टोड्के’ को दाग मेटाएको छैन, बरु त्यसलाई स्वाभिमानको तिलकमा रूपान्तरण गरिदिएको छ।
र यो यात्रा यहाँ टुंगिँदैन। शून्यबाट शिखरसम्म पुगिएको हाम्रो यात्राको यो शिखर अन्तिम होइन। अबको लक्ष्य गुणस्तरको नयाँ उचाइ, नवाचारको अर्को अध्याय, र आत्मनिर्भर शैक्षिक अभियान हो। अब हामी केवल पढाउने होइन, समाज बदल्ने शिक्षा दिनेछौँ। अब हामी केवल परीक्षा होइन, जीवन जित्ने सीप सिकाउनेछौँ।
जनज्योति माध्यमिक विद्यालय अब एउटा विद्यालय मात्र छैन—यो त एउटा विचार हो, एक आन्दोलन हो, एक सपना हो जुन सपना हजारौँले देखेका छन्, र सयौँले साकार पारेका छन्।
हामी गर्वका साथ भन्छौँ—जनज्योति हाम्रो गौरव हो।जनज्योति संघर्ष, समर्पण र सफलता को सगरमाथा हो। शून्यबाट शिखरसम्मको यो यात्रा अब अनन्त आकाश छुने नयाँ उडान हो।
( लेखक शाही जनज्योती माबिका शिक्षक हुन )
२०८२ अषाढ १९, बिहिबार