म ताप्लेजुङ जिल्लाको फुङलिङ नगरपालिका -७ साविक हाङ्गदेवा गाविसमा जन्मेको र २० वर्षको उमेरसम्म त्यहाँ बिताएको व्यक्ति हुँ । मेरो बालसखा ३० वर्ष विदेश विकसित देशमा बिताएर केही समयअघि नेपाल आएछन् | जन्म गाउँ हाङ्गदेवामा एक महिना बिताएर झापा हुँदै काठमाडौँ आएका रहेछन् | सामाजिक सञ्जालको माध्यमबाट सम्पर्क भयो। फोन आदानप्रदान भयो । कुरै कुरामा भेटघाट गर्ने समय मिलायौं र सम्झना योग्य भेटघाट कार्यक्रम काठमाडौँमा सम्पन्न भयो।
सो कार्यक्रममा हामी बालसखा आज दुवै प्रौढ अवस्थाको उत्तरार्धमा छौँ। हामीबीचमा भएका भलाकुसारी अनुभव र वर्तमानमा हामीले देखेका भोगेका कुराहरूको समीक्षा भयो । भेटघाटमा भएको वार्तालाप र समीक्षालाई यहाँ पस्किने प्रयत्न गरेको छु। हाम्रोबीचमा कमिज र कट्टु लगाएर बिना जुत्ता चप्पल स्कुल गएको , धुलेपाटीमा सिन्काले क ख लेख्न सिकेको, अलि पछिल्लो समयमा हिरो कलममा चेलपार्क मसी भरेर लेख्न/बोक्न थालेको र कहिलेकाहीँ कलमबाट मसी चुहिएर पुरै कमिज रङ्गिएको, बाटो हिँड्दा कतै सहरहरू देखिए/भेटिए लुकेर भागेर हिँड्ने गरेको, टुकीबत्ती बालेर अथवा सल्लाहको दाउरा बालेर होमवर्क गर्ने गरेको विषयहरु हामीले स्मरण गर्यौ । छरछिमेक र आफन्तको बिहे जस्ता भोजभतेरमा जाँदा जमिनमा बसेर टपरी वा केराको पातमा खाना खाएको, गाईबस्तु हेर्न जाँदा मट्याङ्ग्रा, लुकामारी, चुङ्गी, कबड्डी तथा जुराफमा कपडा वा थोत्रा लुगा कोचेर फुटबल खेलेको गफमा छुटेनन । एकदिन डन्डी-बियो खेल्दा मेरो हातबाट डन्डी खुस्किएर उसको नाडीमा लाग्न गएको, यसरी भएको दुर्घटना घरमा पुगेर अभिभावकले देखेपछि थाहा भयो। उसको हात भाचिएछ। डाँडाघरी कान्छा काकालाई बोलाएर उनले के हो लेप लगाएर बाँसको भाटाले काम्रो बाँधेको १५ दिनपछि ठिक भएको थियो | अहिले सम्म त्यसको कुनै असर बाँकी नरहेको कुरा उसले बतायो।
०२८ सालमा सायद हामी सात आठ वर्षजतिको उमेर थियो होला, राजा महेन्द्र बितेको हल्ला गाउँमा पुगेछ र अभिभावकहरुलाई त्यसको निश्चित गर्ने उत्सुकता बढेछ। पल्लो गाउँको लाहुरे काकाको घरमा रेडियोबाट राजाको मृत्यु बारेको समाचार सुन्न दाइहरू बाँसको भाटाको राको सल्काएर बेलुका निस्किनुभयो | हामी झगडा गरेर सँगसँगै गयौँ। लाहुरे काकाको घरमा पहिलो चोटी रेडियो बजेको देखियो। सुरुमा त त्यसभित्र कति सानो मान्छे होला कस्तो राम्रो बोलेको जस्तो लागेथ्यो | पछि हुँदै जाँदा रेडियोको बारेमा हामीलाई थाहा लाग्यो । बाल्यकालको यो सम्बन्ध पनि हामीले बिर्सिएका रहेनछौँ। उस समय मोटर बाटो वा बजारको व्यवस्था कल्पनाभन्दा टाढाको विषय रहेछ। त्यसैले होला हाम्रो दाइ पुस्ता सम्मले वर्षको एकचोटी हिउँदमा गाउँभरिको समान उमेरका युवाहरू ढाकर र तोक्मा बोकेर धरान जानुहुन्थ्यो |
धरानबाट एक वर्षसम्मलाई पुग्ने ढिके नुन, मट्टी तेल, चिनी र केहि लत्ता कपडाहरू लिएर आउनुहुन्थ्यो । केही हप्ताको विश्राम पश्चात् उहाँहरु फेरि संखुवासभाको चैनपुर जानुहुन्थ्यो र सक्खर लगायतका चिजहरु ढाकरमै बोकेर ल्याउनुहुन्थ्यो। हामी आमाले सक्खर राखेको ठाउँ खोजेर चोरी चोरी सखर खान्थ्यौं । एकैपटक धेरै फुटाउँदा आमालाई थाहा हुन्छ भनेर थोरै थोरै चोरेर खान्थ्यौं र कहिलेकाहीँ चोरीको सक्खर उसले मलाई मैले उसलाई दिने गर्थ्यौ पनि । किशोर अवस्थामा प्रवेश गरेसँगै धुलोमा खेल्ने उमेर गइसकेको थियो। अब खेतीको काममा परमाको काम हामीले सुरु गरिसकेका थियौं। बारीधापबाट धान पराल नाम्लो लगाएर पिठ्युमा बोकेर ओसारेको, खनजोत मेलापर्व गर्दाका दुख तथा रमाइलो भएका अनुभवहरू हाम्रो मनस्थितिमा ताजै रहेछन् ।
शनिबारे तोक्मे बजारबाट फर्किँदा हाङ्गदेवाको पहिरोले गैराघरे जेठी दिदीलाई बगाएर लगेको, तमोर नदीमा बनाइएको फड्के (अस्थायी पुल) तर्दा उसको माइलो दाई तमोरले बगाएर बितेको अहिलेसम्म सब फेला नपरेको विषय छुट्ने कुरो थिएन । दशैंमा नयाँ लुगा लाउन पाउने, लाखे जात्राको पर्खाइमा वर्ष बिताउने र दशैं वा यस्तो चाडबाडमा मासुभात खान पाइने, कहिलेकाहीँ सँगै खाएका सन्दर्भहरू र यसरी सँगै खाँदा उसको भागमा बढी मासु परेको देखिने सन्दर्भहरुलाई काठमाडौँको चिया गफमा ठट्टाको रुपमा हामीले कोट्यायौं । उबेला हामी जन्मेको गाउँमा वा घरबाट भ्याउने ठाउँमा माध्यमिक विद्यालय थिएन। कक्षा ७ सम्म हामीले एउटै विद्यालयमा पढ्यौं | त्यसपछि ऊ सदरमुकामको भानु माध्यमिक विद्यालय फुङ्लिङ मा पढ्न गयो भने म मोती माध्यमिक विद्यालयमा छात्रवासमा बसेर माध्यमिक शिक्षा पूरा गरे |
हाम्रा विद्यालयमा रहेका समानता र फरक विषयहरुमा हामीले उतिबेलै पनि चर्चा गर्न भ्याएका थियौ बिदाको समयमा या मेलापातको समयमा । त्यसबेला ताप्लेजुङ जिल्लामा जम्मा छ वटा माध्यमिक विद्यालय थिए। अहिले ४८ वटा माध्यमिक विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गरिरहेको रहेछन् । उसको काका काकीहरू हजुरबा हजुरआमा समेतलाई लिएर अलि पहिले नै तराई झरेको हुनाले उसले तराईका सहर बजारहरूको बारेमा जानेको, मोटरगाडी देखेको, तराई आउने जाने गरेको सन्दर्भ त्यसबेला मलाई उसको कुरा बनौटी जस्तो लाग्थ्यो | जबकि मैले १७ वर्षको उमेरमा मात्र पहिलो पटक गाडी देख्ने मौका पाएँ। निरंकुश/निर्दलीय पंचायती व्यवस्थाको विरोध र बाम-लोकतान्त्रिक आन्दोलनको पक्षमा लागे वापत गाउँ पंचायत कार्यालयमा आगो लगाएको झुठो अभियोगमा २०३९ साल माघमा मलाई जेल हालियो | एक वर्ष पछी म जेलबाट छुटेर आउदा ऊ गाउँ छोडेर हिडिसकेको थियो | भेट भएको थिएन | बाल्यावस्था किशोर अवस्था र झन्डै दुई दशकसम्मको हाम्रो सहकार्य हामी बीचमा भएका मनमुटाव र झै-झगडाका विषयहरु र वर्तमानका हाम्रा परिस्थितिहरूको बारेमा हामीले एक दिनमा कुरा टुंग्याउन/बिट मार्न सकेनौँ र फेरि अर्को दिन समय मिलाउने र हाम्रो वार्तालाप जारी राख्ने बाचासहित छुट्यौँ।
अर्को दिनको भेटमा हामी वर्तमानमा फर्कियौं ३० वर्षपछि नेपाल आउँदा, गाउँमा बस्दा, सहरमा बस्दा उसले देखेका भोगेका नयाँ अनुभवहरूलाई उसले आफ्नै शैलीमा मलाई सुनायो । भन्यो हाङ्गदेवाको पहिरोमा अहिले गाडी चल्ने भएछ, तमोर नदीमा ठाउँ ठाउँमा पक्की पुल तथा झोलुङ्गे पुलहरु बनेछन् रे | अहिले पानी बोक्नलाई डोकोमा गाग्री राखेर आधी घण्टाको यात्रा तय गर्नुपर्दो रहेनछ घरघरमै धारा रहेछन् रे । भन्दै थियो ताप्लेजुङको दिनेश अधिकारी भन्ने भाइले घरबाट बिहान हिँडेर इटहरीमा रेडकसको मिटिङमा सहभागी भएर साँझ ताप्लेजुङ घरमा फर्किन भ्याए रे एकै दिनमा | यसका लागि हाम्रो किशोर अवस्थामा हामीले एक हप्ता पैदल यात्रा गर्नुपर्थ्यो | सबैको घरमा बिजुली बत्ती पुगेको रहेछ रे | अब नयाँ लुगालाई र मासुभात खानलाई दशैं कुर्नुपर्ने स्थिति रहेनछ रे ।
अनि उसले मलिन अनुहार लगाएर यो पनि सुनायो हाम्रा धेरै बालसखा किशोर अवस्थाका साथीहरू गाउँमा उसले भेटेन छ। पाँच जना मात्र भेटेछ । अरु सबै परदेशिएको, गाउँ मानवविहीन र उजाड जस्तै भएको, पहिला हामीले मेलापात गरेर अन्न उब्जाएका खेतबारीहरु अहिले बाँझै भएको कुरा पनि उसले दुःखका साथ सुनायो। उसको मामाहरू धेरै वर्ष अगाडिदेखि काठमाडौँको सितापाइलामा घर बनाएर बस्नुभएको थियो। ऊ विदेश जाने समयमा मामाघरमा आएर बसेको त्यहीबाट तयारी गरेर बाहिर गएको थियो।
अहिले फेरि ३० वर्षपछि आउँदा पनि ऊ सीतापाइलामै बसेको रहेछ। त्यो बेलाको मामाघरमा भएको अवस्था र अहिलेको अवस्थाको भिन्नता पनि सुनायो। त्यो बेला पानी लिन १० मिनेट टाढा जानुपर्ने, ढुङ्गेधारामा पालो कुरेर पानी थापेर लिएर आउनुपर्ने, अहिले प्रत्येक फ्ल्याटमा वाथरुममा, किचनमा पानीका धारा भएको, घरभित्रै बाथरुम भएको अहिले सौच गर्न, दिशा गर्न बारी वा खोलाको किनारतिर जानु नपरेको, कतै हिँड्नको लागि मामाघरमै कारको सुविधा भएको, सो नभएको अवस्थामा पनि अटोरिक्सा वा पठाओ/इनड्राइभ को सुविधा भएको, सुविधाको भोग गरेको कुरा उसले सुनायो । मिठो खानेकुरा खानलाई अब माइजुसँग डराउनु नपर्ने, विभिन्न प्रकारका फलफुल तथा मिठाईका परिकारहरु फ्रिजमा आफै खोलेर या मगाएर खान पाउने र मासु भात खानलाई कर्काप गर्दा पनि उसले खान नसकेको आदि अनुभव उसले सुनायो। पहिला बुबाआमालाई समेत चिठ्ठीपत्र हातले लेखेर पोष्ट गर्नुपर्ने महिनौ महिना आदानप्रदान गर्न समय लाग्ने, अहिले बुबाआमा मात्रै होइन मामा माइजु भाइ बहिनी सबैसँग भिडियोमा विदेशमा बस्दा पनि दैनिक कल गर्ने गरेको हुनाले विकसित र फेरिएको जीवनशैलीप्रति उसले धेरै अनौठो अनुभव गर्नुपरेको रहेनछ। विदेशमा पनि त उसले यस्तै सुविधाहरूको दैनन्दिन उपभोग गरिरहेकै थियो सायद ।
कुरै कुरामा मैले उसलाई सोधेँ ‘विदेशमा बस्नेहरुले त नेपालमा लोकतन्त्र/गणतन्त्रमा कुनै विकास भएन बरु पहिलाकै व्यवस्था ठिक थियो, अहिले त लुट, भ्रष्टाचार र सिन्डिकेटले देश तहसनहस भएको छ। नयाँ काम कुनै भएन र केही सीमित व्यक्तिहरूको हालीमुहाली र लुटतन्त्र कायम भएको छ। देश बर्बाद भएको छ भन्ने एकोरो आवाज सुनिन्छ | सामाजिक सञ्जालको प्रभावले विदेशमा बस्ने मान्छेहरुले गरेको यस्तो अभिव्यक्ति र प्रचारबाट देशवासीहरू पनि प्रभावित भएका छन् । तँलाई के लाग्छ विकास/प्रगति/समृद्धि पहिला र अहिले कसरी तुलना गर्छस् ?’
उसले विदेशमा बसेर पनि नेपालको अवस्थाको बारेमा अध्यावधिक गर्ने गरेको रहेछ। तथ्याङ्कहरूको जानकारी राख्ने गरेको रहेछ। जवाफमा उसले भनेको कुरा जस्ताको तस्तैः “उसबेला नेपालको कुल गारस्त उत्पादन ३ खर्ब ६३ अर्ब रहेछ अहिले गणतन्त्रमा ६१ खर्ब पुगेछ । निरपेक्ष गरिबी राजतन्त्रमा ४९ प्रतिशत, गणतन्त्रमा १५.१ प्रतिशत रहेछ । निरपेक्ष गरिबीको सङ्ख्या धेरै घट्नुमा सामाजिक सुरक्षा भत्ताले पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरेको कुरा मैले पाएँ। अहिले वार्षिक ४८ हजार सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नेहरूको सङ्ख्या नै २० लाखभन्दा बढी पुगेको रहेछ। कच्ची सडक राजतन्त्र/पञ्चायतमा ७३३० किलोमिटर रहेछ र आधाभन्दा कम जिल्ला सदरमुकाममा सडक सञ्जाल जोडिएको रहेछ भने अहिले गणतन्त्र कालमा ६७४३ वटै वडामा कच्ची सडक सञ्जाल पुगेको रहेछ। पञ्चायतकालको ३० वर्षमा नेपालमा जम्मा ७ हजार ४०० किमि सडक कालोपत्रे भएको थियो भने अहिले २९ हजार किलोमिटर सडक कालोपत्रे भइसकेको छ ।”
“आधारभूत खानेपानी को पहुँच पुगेको जनसङ्ख्या राजतन्त्र कालमा ३६ प्रतिशत र गणतन्त्रमा ९४.९ प्रतिशत पुगेको पाएँ। साक्षरता दर राजाको पालामा ४० प्रतिशत, गणतन्त्र कालमा ७६ प्रतिशत पुगेको छ । प्रतिव्यक्ति आय राजतन्त्रमा १८५ युएसडी, प्रजातन्त्रकालमा ३११ र गणतन्त्रकालमा १४१० युएसडी देखिन्छ । (पञ्चायतको ३० वर्षीय अवधिमा जम्मा १३५ युएसडी बढेको थियो । उबेला सञ्चारमा ७१,५६० टेलिफोन सेट वितरण भएका थिए। अहिले ३ करोड भन्दा बढी सिम कार्डहरु वितरण भएका रहेछन्। विद्युतको पहुँच राजाको पालामा ८.८ प्रतिशत जनताको घरमा थियो भने अहिले ९५ प्रतिशत जनताको घरमा विद्युत पुगेको छ। करिब १०० वर्षको अवधिमा राजतन्त्रकालमा २२७ मेगावाट बिजुली उत्पादन भयो अहिले, २८०० मेगावाट विद्युत उत्पादन हुँदै रहेछ। राजतन्त्रमा जनताको औसत आयु ५४ वर्ष रहेकोमा गणतन्त्रमा ७१ वर्ष पुगेको छ । राजतन्त्रमा ९४५ वटा स्वास्थ्य संस्थाहरू थिए भने गणतन्त्रमा ७८०० वटा पुगेछन् । शिशु मृत्युदर राजतन्त्रमा १२८ प्रति हजार, गणतन्त्रमा २१ प्रति हजार छ पुगेको छ ।”
यति लामो र रोचक कुरा सुनिसकेपछि मैले प्रति प्रश्न गरे ‘तिमीले विदेशमा बसेर यति धेरै तथ्य तथ्याङ्कहरु कहाँबाट पायो र यसको विश्वसनीयता के छ ?’ जवाफमा उसले भन्यो” संयुक्त राष्ट्र संघीय विकास नियोग, विश्व बैंक जस्ता अन्तर्राष्ट्रिय संस्थाहरूले वर्षेनी प्रकाशित गर्ने मानव विकास सूचकाङ्क जस्ता प्रतिवेदनहरू वार्षिक रुपमा खोजीखोजी पढ्छु र नेपालको बारेमा अध्ययन गर्छु । यसरी म नियमित नेपालको बारेमा अध्यावधिक भइरहन्छु। विकसित र समृद्ध मुलुकमा बस्दैमा म कसरी भन्न सक्छु नेपालमा पछिल्लो समयमा केहीको भएको छैन भनेर हावादारी, तथ्यहीन र पूर्वाग्रही कुरा । अरु त अरु बिदेशमा बस्नेहरुले नेपालमा केहि भएन भनेर जुन कोकोहोलो मच्चाउछन् नि, २०४६ सालमा प्रजातन्त्र नआएको भए ती कसैले यो रुपमा विदेश जान पाउने थिएनन् | किनकी राजाको पालामा नागरिकले राहदानी बनाउने वा बनाउन पाउने चलन नै थिएन | त्यो बेला विदेश जाने भनेको भारत वा बेलायतमा सेनामा वा भारतका विभिन्न शहरमा कुल्ली दरबान बन्न जान मात्र पाइन्थ्यो |आज यूरोप अमेरिका लगायत देशमा गएर हामीले भोगिरहेको जिन्दगि लोकतन्त्र नआइदिएको भए हामी त्यहि कुल्ली, दरबान वा ठुलो प्राप्ति भए भाडाका सिपाही हुने थियौं |”
साँझ पर्याे र कुराकानीलाई हामीले एकअर्कामा निमन्त्रणा आदान प्रदान गर्दै बिदा भयौँ। मैले उसलाई मेरो निवास चाँगुनारायण, भक्तपुरमा एक रात बस्नको निम्ति निम्तो दिएँ भने उसले मलाई उसको देशमा घुम्न आउनका निम्ति निमन्त्रणा दियो । समय अनुकूल बनाएर आउने मैले वाचा गरें र हामी छुट्टियौं।
(लेखक मिश्र अन्तर्राष्ट्रिय राजनीतिका अध्येता एवं नेकपा एमालेका केन्द्रीय सदस्य हुन् ।)
२०८२ जेष्ठ २०, मंगलबार