काठमाडौंका पेट्रोल पम्पमा अत्यासलाग्दो लाइन


३ असार, काठमाडौं । पेट्रोलियम पदार्थको अभाव भएसँगै काठमाडौं उपत्यकाका पेट्रोल पम्पहरुमा सवारी चालकहरुको लामो लाइन लागेको छ । काठमाडौंका पेट्रोल पम्पहरुमा लामो समयपछि सवारी साधनहरुको लाइन देखिएको छ ।

भारतले नेपालमा गरेको नाकाबन्दीको समयमा र त्यसपछि २०७८ सालमा पेट्रोलियम पदार्थ ढुवानी व्यवसायीहरुको आन्दोलनका कारण पनि इन्धन अभाव भएको थियो ।
अहिले नेपाल पेट्रोलियम ट्यांकर चालक संघको आन्दोलनका कारण आइतबारबाटै राजधानीका निजी पेट्रोल पम्पहरुले पेट्रोलियम पदार्थको बिक्री रोकेका छन् ।

नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरले पेट्रोलियम मजदुरहरुले विभिन्न माग राखी आपूर्ति रोक्दा पम्पहरुमा इन्धन अभाव भएको हो ।
अधिकांश निजी पम्पमा ‘पेट्रोल छैन’ लेखिएको सूचना टाँस गरिएको छ । खुलेका केही पेट्रोल पम्पहरुमा भने लामो समय पालो पर्खनुपर्ने बाध्यता छ । गर्मीको बेला लामो समयसम्म लाइनमा बस्नुपर्दा सवारी चालकहरु हैरान छन् ।

पेट्रोलियम मजदुरहरुले सबै ट्यांकर चालक/सहचालकको श्रम ऐन अनुसार नियुक्ति पत्र दिई नेपाल सरकारले तोके अनुसार तलवको व्यवस्था गर्न माग गरेका छन् ।
स्वरोजगारको हकमा मात्र लागु गरिएको दोब्बर बैंक ग्यारेन्टी र वार्षिक नवीकरण खारेज गर्न तथा चालक र सहचालकलाई जोखिम भत्ताको व्यवस्था गरिनु पर्ने माग समेत उनीहरुले राखेका छन् ।


सम्बन्धित समाचार