+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मानव तस्करीको छानबिन : विमानस्थल अध्यागमनका ६ नायब सुब्बा तानिए

Bhojpur paani
अत्रिदेव खबर
२०८२ जेष्ठ ९, शुक्रबार

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत भइरहेको मानव तस्करी सम्बन्धी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गहिरो छानबिनका क्रममा गृह मन्त्रालयले विमानस्थल अध्यागमन कार्यालयमा कार्यरत ६ जना नायब सुब्बाहरूलाई जिम्मेवारीबाट हटाएर मन्त्रालयमा तानेको छ। भिजिट भिसाको दुरुपयोग गरी भइरहेको मानव तस्करी प्रकरणमाथि मन्त्रालयले पनि छुट्टै आन्तरिक छानबिन गरिरहेकोले उनीहरूलाई जिम्मेवारीबाट हटाइएको गृह मन्त्रालयका एक अधिकारीले अनलाइनखबरलाई बताएका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई दिनअघि मात्रै विमानस्थल अध्यागमन कार्यालयमा छापा मारी महत्त्वपूर्ण कागजात र कम्प्युटरहरू बरामद गरेको थियो। यस क्रममा अध्यागमन प्रमुख सहसचिव तीर्थराज भट्टराई समेत पक्राउ परेका थिए। यद्यपि, दिनभरको केरकारपछि उनलाई भोलिपल्ट उपस्थित हुने शर्तमा साँझ छाडिएको थियो। अख्तियारले यो मामिलामा करिब एक महिनाअघिबाटै सूक्ष्म अनुसन्धान गरिरहेको थियो। छानबिन भइरहेको थाहा पाएपछि सहसचिव भट्टराईले एक दिनअघि मात्रै सरुवा मागेका थिए।

यसअघि पनि भिजिट भिसा प्रकरणमा मुछिएको आशंकामा गृह मन्त्रालयका ९ जना कर्मचारीको सरुवा भइसकेको थियो। विमानस्थललाई मानव तस्करीको मुख्य मार्ग बनाइएको भन्ने गुनासो र प्रमाणहरू बाहिरिएपछि अख्तियार र गृह मन्त्रालय दुवैले यसमा गम्भीरतापूर्वक अनुसन्धान थालेका हुन्। यस घटनाले नेपालको अध्यागमन प्रणालीमा रहेको कमजोर व्यवस्थापन र भ्रष्टाचारको जालोलाई उजागर गरेको छ, जसको पूर्ण छानबिन र दोषीमाथि कारबाहीका लागि दबाब बढेको छ।

२०८२ जेष्ठ ९, शुक्रबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ ९, शुक्रबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर