अत्रीदेव खबर / असार १७ : सहकारी संस्था बचत दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले समस्याग्रस्त २० वटा सहकारीका कागजात माग गरेको छ । सहकारी विभाग र समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सार्वजनिकीकरण गरेका २० सहकारी संस्थाबाट समितिले आइतबार पत्राचार गर्दै कागजात झिकाएको हो ।
समितिले यसअघि १२ असारमा गोर्खा मिडिया नेटवर्कमा रकम प्रवाह गर्ने अनुसूची २ मा रहेका ९ वटा सहकारीको कागजात झिकाएको थियो । समिति सभापति सूर्य थापाले कार्यादेश पाएका सबै २९ वटै सहकारीको कागजात झिकाएर अध्ययन गरिने बताए । समितिलाई २९ वटै सहकारीको छानबिन गर्ने कार्यादेश छ ।
समस्याग्रस्त र सार्वजनिक रूपमा प्रश्न उठेका सहकारीमा ओरेन्टल को–अपरेटिभ लिमिटेड, स्ट्यान्डर्ड सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ, प्यासिफिक सेभिङ एन्ड इन्भेस्टमेन्ट को–अपरेटिभ, प्रभु बचत तथा ऋण सहकारी संस्था, कोहिनुर हिल सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ, कन्जुमर बचत तथा ऋण सहकारी संस्था, कुवेर बचत तथा ऋण सहकारी संस्था, चार्टर्ड सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ, भेगास बचत तथा ऋण सहकारी संस्था र स्ट्यान्डर्ड मल्टिप्रपोज को–अपरेटिभ लिमिटेड रहेका छन् ।
त्यस्तै, सोसाइटल बचत तथा ऋण सहकारी संस्था, लुःनिभा बहुउद्देश्यीय सहकारी संस्था, पशुपति सेभिङ क्रेडिट को–अपरेटिभ लिमिटेड, शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, तुलसी बहुमुखी सहकारी संस्था लिमिटेड, हाम्रो नयाँ कृषि सहकारी संस्था लिमिटेड, कृषि विकास बहुउद्देश्यीय सहकारी संस्था, कान्तिपुर सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेड, लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था र गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड पनि समस्याग्रस्त सहकारीको सूचीमा रहेका छन् ।
सभापति थापाका अनुसार समितिले आइतबार ०६१ सालमा गठित सहकारी अध्ययन समितिका संयोजक डा. युवराज खतिवडा, ०७० सालमा गठित समस्याग्रस्त सहकारी जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्की र ०४७ सालमा गठित सहकारी अध्ययन कार्यदलका संयोजक राधाकृष्ण मैनालीसँग छलफल गरेको छ । उनीहरूले आ–आफ्नो समयको अध्ययनको निष्कर्षका साथै हालको संकट र सहकारी क्षेत्रको समस्या समाधानका लागि सुझावहरू प्रस्तुत गरेका थिए ।