अत्रीदेव खबर / असार ७ : उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई निलम्बन गर्न माग गर्दै दायर भएकाे रिटको सुनुवाइका लागि आज पेसी तोकिएको छ।
उक्त रिट सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र शारङ्गा सुवेदीको संयुक्त इजलासमा पेसी तोकिएको छ।
सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेको संलग्नता देखिने गरी जाहेरीसमेत परेको दाबी गर्दै अधिवक्ता अनुपम भट्टराईले दायर गरेको रिट सुनुवाइकै क्रममा रहेको छ।
यसअघि उक्त रिट हेर्न नमिल्नेमा परेकाे थियाे। इजलासबाटै सुनुवाइको मिति तोकिएकाले आजका लागि पेशी तोकिएको थियो।
महान्यायाधीवक्ता कार्यालय गृहमन्त्री लामिछानेलाई क्लिन चिट देखिने गरी कुनै पनि जिल्लामा अनुसन्धान, अभियोगपत्र र जाहेरी नभएको भनी पत्र लेखेपछि अधिवक्ता भट्टराईले रिट दायर गरेका थिए।
सुरुमा उक्त रिट दरपिठ भएको थियो। पछि न्यायाधीश टेकनारायण ढुङ्गानाको इजलासले दर्ता गर्न आदेश गरेपछि पुन: दर्ता भएको थियो।
रिटमाथि पहिलो सुनुवाइ गर्दै सर्वोच्चले पोखरादेखि रुपन्देहीसम्म जाहेरी दर्ता तथा अभियोग पत्रसम्म मगाउने आदेश गरेको थियो। त्यस्तै सर्वोच्चमा पोखराको सूर्यदर्शन र बुटवलको सुप्रिम सहकारी ठगीबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले गरेको अध्ययन प्रतिवेदनसमेत पेस भइसकेको छ।