प्रकाश मिश्र/ सुखड
कैलालीको घोडाघोडी नगरपालिका–१ मा अवस्थित विश्व रामसार तथा सिमसार क्षेत्रमा सूचीकृत घोडाघोडी तालसँगै जोडिएको ओजुवा तालमा घडियाल गोही हुँदाहुँदै भइरहेको डुङ्गा सञ्चालन जोखिमपूर्ण रहेको पाइएको छ । उक्त तालमा गोहीहरू रहँदारहँदै डु¨ा सवारी हुनु जोखिमपूर्ण रहेको स्थानीयको भनाई छ ।
ओजुवा ताल क्षेत्रमा डुङ्गा सञ्चालनको जिम्मेवारी व्यवसायी डवल शाहले पाएका छन् । उनलाई स्थानीय घोडाघोडी सामुदायिक बनले माछा पालन तथा डुङ्गा सञ्चालनका लागी भनेर सामुदायिक बन क्षेत्रभित्र पर्ने ताल लिजमा दिएको हो । तर व्यवसायी डबल शाहले तालमा हिंस्रक घडियाल गोही छ भन्ने जानकारी रहँदारहँदै मानव जीवन जोखिममा पारेर डुङ्गा सञ्चालन गरिरहेको पाइएपछि पर्यटक तथा स्थानीय चिन्तित बनेका छन् ।
घोडाघोडी ताल क्षेत्र अवलोकनका लागी आउने आन्तरिक तथा बाह्य पर्यटकहरू जलयात्रा गर्न रुचाउँछन् तर उनीहरूको ज्यान जोखिममा छ यतातर्फ समयमै ध्यान दिनुपर्छ नत्र पछि पछुताउनु बाहेकको विकल्प नरहने घोडाघोडीका युवा अगुवा राजु बमले बताए । पर्यटकीय क्षेत्रमा पर्यटकलाई आकर्षित बनाउनु राम्रो पक्ष हो तर उनीहरूको जीवनलाई जोखिममा रहेर गरिने क्रियाकलाप एकदमै गलत भएको बमको भनाई छ । जीवहरूको वासस्थानमा गएर जिस्काउनु जोखिमपूर्ण कार्य हुने हुँदा समयमै सचेत नभए समस्या हुने बमले बताए ।
पर्यटकहरू धेरै आउने साथमा बालबालिकादेखि बृद्धबृद्धाहरुपनी आउने हुँदा कुनै घटना भइहाले जबाफदेहिता कसले लिने भन्छन् घोडाघोडी नगरपालिका–१ का टेकराज आचार्य । गोहीले केहीबर्ष अगाडी स्थानीय बालकको ज्यान लिएको घटना नदोहोरियोस् भन्नका लागी समयमै सचेतना आवश्यकता देखिएको आचार्यको बुझाई छ ।
गोही भएकै तालमा डुङ्गा सञ्चालन अत्यन्तै खतरनाक रहने भएकोले तत्काल समाधान खोजिनुपर्ने स्थानीय युवा जनक जोशीको धारणा छ । पानीमा रहने खतरनाक जीवसँग खेलबाड गर्नु दुखद हुने जोशीले बताए । यसबिषयमा स्थानीय सरकार तथा सरोकारवाला निकाय गम्भीर बन्नुपर्ने जोशीको धारणा छ ।
घोडाघोडी नगरपालिकाका नगरप्रमुख खडक रावतले गोही भएकै तालमा डुङ्गा सञ्चालन गर्नु उचित नभएको बताए । पर्यटकका लागी जुन तालमा डुङ्गा सञ्चालन गरिएको छ त्याहा गोही छ भन्ने थाहा पाउने बित्तिकै डुङ्गा सञ्चालन रोकेर त्यसको व्यवस्थापन गर्नुपरे बुद्धिमानी हुने नगरप्रमुख रावतले बताए । नगरप्रमुख रावतले गोहीको व्यवस्थापन गरेर मात्र डुङ्गा सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरे ।