सुखड : परराष्ट्रमन्त्री एनपी साउद कतार गएका छन्।
दोह २१ औं सम्मेलनमा भाग लिन मन्त्री साउद आज बिहान पौने ८ बजे कतार एयरलाइन्सको उडानबाट त्यसतर्फ प्रस्थान गरेको मन्त्री साउदका स्वकीय सचिव दिपक जोशीले जानकारी दिए।
परराष्ट्रमन्त्री साउद शनिबार बिहान ७:४५ बजे कतार एयरलाइन्सको विमानबाट दोहा गएका हुन्।
परराष्ट्रमन्त्री साउद आइतबारदेखि कतारमा सुरु हुने दोहा २१ औँ फोरममा सहभागी हुनेछन्। त्यहाँ हुने उच्चस्तरीय भेटमा हमासको बन्धकमा रहेका विपिन जोशीको रिहाइको विषय गम्भीरताका साथ उठाउने मन्त्री साउदको सचिवालयले जनाएको छ।
कतारमा उनले समकक्षीसँगै विदेश राज्यमन्त्री सुल्तान बिन साद अल-मुखारीसँग विपिनका बारेमा कुराकानी गर्ने कार्यतालिका तय भएको छ।
मन्त्री साउदले यसअघि मंसिर ८ गते राज्यमन्त्री मुखारीसँग परराष्ट्र मन्त्रालयमा भएको भेटमा पनि जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका थिए।
यस्तै उनले मंसिर ७ गते इजरायलका राजदूत हनान गोडरलाई मन्त्रालयमा बोलाएर जोशीको रिहाइका बारेमा कुरा गरेका थिए।
परराष्ट्रमन्त्री साउदले शुक्रवारमात्रै विपिनको रिहाइका विषयमा इजरायल सरकारका बन्दी तथा वेपत्ता व्यक्तिहरुका विषयमा हेर्ने संयोजक गल हर्चसँग कुराकानी गरेका थिए।
उनले शुक्रबार दिउँसो उनीसँग सुदूरपश्चिम विश्वविद्यालयबाट ‘अर्न एन्ड लर्न’ कार्यक्रमअन्तर्गत अध्ययनका लागि इजरायल पुगेका जोशीको हालको अवस्था लगाउन, सुरक्षाको प्रत्याभूति गर्न र शीघ्र रिहाइ गराउने अथक प्रयासकै निरन्तरता स्वरुप टेलिफोन संवाद गरेका थिए।
संवादका क्रममा मन्त्री साउदले विद्रोही समूह हमासको नियन्त्रणमा रहेका भनिएका जोशीको वर्तमान अवस्था इजरायली स्रोतमार्फत् यकिन गरिदिन, उनलाई सरक्षाको प्रत्याभूति दिलाइदिन र आगामी दिनमा हमासको नियन्त्रणमा रहेका बन्दी रिहाइ हुँदा पहिलो चरणमा नै जोशीलाई प्राथमिकतामा राखिदिन आग्रह गरेका थिए।
यसअघि परराष्ट्रमन्त्री साउदले गत मंगलबार कतारका राजदूत मिशाल मोहम्मद अल अन्सारीसँग हमासको नियन्त्रणमा रहेका भनिएका जोशीको रिहाइका लागि सबै उपाय लगाउन आग्रह गरेका थिए।
जवाफमा राजदूत अन्सारीले इजरायल र विद्रोही हमासबीच पुनः सुरु भएको युद्ध रोक्न कतार सरकारले पहल गरिरहेको बताएका थिए। नेपाली विद्यार्थी जोशीसहितका अपहरणमा परेकाहरुको रिहाइका लागिसमेत प्रयास जारी रहेको उनको भनाइ थियो।