एनसेलको शेयर खरिद बिक्री रोक्न सरकारलाई लेखा समितिको निर्देशन

काठमाण्डौ ः प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिले एनसेलको शेयर खरिद बिक्री सम्बन्धी कारोबार रोक्न सरकारलाई निर्देशन दिएको छ । बुधवार बसेको समितिको बैठकले एनसेलको शेयर खरिद बिक्री सम्बन्धी कारोबार संशयपूर्ण, अपारदर्शी र अवास्तविक रहेको ठहर गर्दै खरिद बिक्री सम्बन्धि कारोबार विस्तृत रुपमा अनुसन्धान गरी निष्कर्षमा नपुगुन्जेलसम्मका लागि रोक्न सरकारलाई निर्देशन दिएको हो । त्यस्तै, समितिले वास्तविकता पत्ता लगाउनका लागि ३० दिनभित्र कार्य सम्पादन गर्ने गरी तत्काल स्वतन्त्र अनुसन्धान गर्न, गराउन पनि निर्देशन दिएको छ ।
त्यसैगरी, बैठकले एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा भएका कामहरुको विस्तृत विवरण र नेपालमा प्रत्यक्ष वैदेशिक लगानी जोखिमयुक्त रहेको भन्ने भनाई सम्बन्धमा सरकारको धारणा ४८ घण्टाभित्र सार्वजनिक गर्न पनि निर्देशन दिएको छ । बैठकले यस प्रकारका विषयसँग सम्बन्धित कानूनी व्यवस्थाहरुमा रहेका छिद्रहरुको उपयोग गरी हुनसक्ने चलखेल रोक्न तथा लगानीकर्ताहरुको सुरक्षा र देशले पाउने लाभ सुनिश्चित हुने गरी स्पष्ट खाका सहित दूरसञ्चार सम्बन्धी कानूनहरुलाई संशोधन गर्न पनि सरकारलाई निर्देशन दिएको छ ।

सम्बन्धित समाचार