‘पढेर केही गरौला सोच्थे, तर यौनकर्ममा लाग्नुपर्यो’


अत्रीदेव खबर : किपुले बडो मेहनतसाथ इञ्जिनियरिङ पढेकी थिइन्। डिप्लोमा गरेपछि राम्रो जागिर पाऊँला भन्ने थियो।

एसएलसीपछि घरबाट टाढा डेरामा बसेर पढेकी थिइन् उनी। केही समय जेनतेन खर्च जुट्यो। डिप्लोमा सकेपछि भने घरको आर्थिक अवस्थाले नधान्ने भयो।

उनी कामको खोजीमा लागिन्। पढाइ अनुसारै काम गर्न चाहन्थिन्। धेरै प्रयास गरिन्, कतै मिलेन।

‘धेरै दिन प्रयास गर्दा पनि काम पाउन सकिनँ,’ उनले भनिन्, ‘अन्ततः एक साथीको सहयोगमा एउटा होटलमा काम थालेँ।’

उनी वेटर थिइन्। मुस्किलले पाएको यो कामबाट पनि निकालिनुपर्ला भन्ने पिर दिनरात हुन्थ्यो। तर एक दिन उनी आफैंले त्यो जागिर छाडिन्।

‘आफ्नो पहिचानमा ठट्टा गरेपछि चित्त दुख्दो रहेछ। आत्मसम्मानमा चोट पुग्दो रहेछ,’ उनले भनिन्, ‘होटलका साहु, सहकर्मी र सधैं आउने ग्राहकले समेत जिस्क्याउन थाले। सबैको हाँसोको पात्रजस्तो भएपछि आत्मसम्मानमा चोट लागेको ठानेर काम छाडेँ।’

किपु ट्रान्सवुमन अर्थात् पारलैंगिक महिला हुन्। त्यो बेला उनी आफ्नो खास पहिचान खुलाउन चाहन्न थिइन्। पुरूष पहिरनमै काममा जान्थिन्। तर उनको हाउभाउमा महिला स्वभाव झल्किइहाल्थ्यो।

‘मुखले नभने पनि, पहिरनले नदेखाए पनि मेरो खास पहिचान लुकेन। इञ्जिनियरिङ सेवामा काम नपाउनुको मुख्य कारण पनि मेरो लैंगिक पहिचान नै थियो,’ उनले भनिन्, ‘मभित्र भएको खास गुण कसोकसो बाहिरै आउँदो रहेछ। केटीजस्तो ठानेर कान्छी भन्दै जिस्क्याउन थाले। साथीहरूले पनि जिस्क्याउन थाले। आफ्नो पहिचानमा ठट्टा गरेपछि चित्त दुख्दो रहेछ। आत्मसम्मानमा चोट पुग्दो रहेछ।’

होटल छुटेपछि उनले अन्त काम खोजिन्। केही दिनको प्रयासपछि आफूजस्तै लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको हकअधिकारका लागि काम गर्ने संस्थामा काम पाइन्। संस्थाले काठमाडौं उपत्यकाबाट अलिक टाढाको जिल्लामा पठायो। अनेक चुनौतीबीच दुई वर्ष काम गरिन्।

यसपछि संस्थासँग पनि उनको कुरा मिलेन। फेरि बेरोजगार भइन्।

‘आत्मसम्मानका साथ काम गर्न पाउने सम्भावना कतै भएन,’ उनले भनिन्, ‘यो पहिचानका कारण केही असजिलो हुन्छ भन्ने लागेर म पुरूषकै पहिरनमा हिँड्थेँ। तर जताततै आत्मसम्मानका यति गहिरो चोट पुग्छ भन्ने सोचेकै थिइनँ।’

अन्ततः लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायकै एक साथीको संगतले उनी यौनकर्ममा लागिन्।

‘म इञ्जिनियर मान्छे, ढिलोचाँडो काम पाउँछु भन्ने विश्वास थियो। मेरो विश्वासले काम गरेन। मान्छेले मेरो शारीरिक चालढाल हेरे। केटाको लुगा लगाएको छ, केटाजस्तै छ तर केटीजस्तो चालढाल छ भने,’ उनले आफ्नो विवशता सुनाइन्, ‘रोजगारी दिनेले मेरो कामको क्षमता हेरेन। मेरो चालढाल हेरेर उपहास गर्‍यो। मसँग यौनकर्ममा लाग्नुको विकल्प नै भएन।’

हाल उनी यौनकर्मीका रूपमा काम गर्दैछिन्। विभिन्न कार्यक्रमहरूमा नाच्छिन् पनि।

कानुनले व्यावसायिक यौनकर्मलाई मान्यता दिएको छैन, लुकीछिपी गर्नुपर्छ।

उनका अनुसार कतिपय ग्राहक यौनकर्ममा आक्रामक हुन्छन्। यस्ता व्यक्तिलाई सेवा दिएपछि शुल्क पनि मुस्किल पर्छ। पैसाको निहुँमा कसैकसैले त ज्यान मार्नेसम्मको धम्की दिन्छन्। उजुरी गर्ने ठाउँ छैन।

उनले एक पारलैंगिक महिलालाई सम्झिन्।

‘ग्राहकहरूले सामूहिक करणी गरेर उनको हत्या गरेका थिए,’ उनले भनिन्, ‘यौन पेसामा न इज्जत छ, न ज्यानको सुरक्षा।’ उनी सिधै यौनव्यवसायी भएकी होइनन्। मानसिक रूपमा तयार हुन निकै दिन लाग्यो। आँट गरेर एक साँझ महिला पहिरनमा सजिएर साथीसँगै सडक किनार पुगिन्। निकै दिनपछि ग्राहक पाइन्। पहिलो रात नै भयानक भइदियो। ग्राहकले जबर्जस्ती गरे। दुर्व्यवहार गरे।

‘कतिपयले हिंस्रक व्यवहार गर्छन्। चित्त बुझेन भनेर कुटपिट गर्न खोज्छन्। पैसा पनि दिन खोज्दैनन्,’ किपुले भनिन्, ‘कसैले त ज्यान मार्ने धम्की पनि दिन्छन्। तर यस्ता ग्राहक थोरै हुन्छन्।’

राति अबेर घर फर्किँदा कुटपिट र लुटपाट पनि सहनुपरेको छ। प्रहरीमा उजुरी गर्न पनि जोखिम हुन्छ। यौनकर्मी भनेर आफैंमाथि समस्या आइलाग्न सक्छ।

यौनकर्ममा रहँदै उनी नृत्यमा पनि लागेकी हुन्। ट्रान्सवुमन व्यक्तिहरूको समूहले मधेसका सांस्कृतिक तथा सामाजिक समारोहहरूमा पारिश्रमिक लिएर नाच्ने चलन छ। उनलाई यौनकर्मभन्दा नाच्नु सजिलो र सम्मानजनक काम लाग्यो।

दिन बित्दै जाँदा नृत्यमा पनि उनले अनेक दुर्व्यवहार भोग्नुपर्‍यो।

‘नाचेकै ठाउँमा तान्न आउँछन्। जे पायो, त्यसैले हान्छन्। कोही त कपाल तानेर घिसार्न पनि आउँछन्,’ उनले नाच्नुको दुःख सुनाइन्, ‘तिमीहरूलाई पैसा दिएको हो भन्छन्। पैसा दिएपछि जे पनि गरे हुन्छ भन्ने ठान्दा रहेछन्। फोहोरी बोलेर गाली गर्छन्।’

जति नै दुःख भए पनि उनी एक वर्ष समूहमा नाचिन्। अन्ततः उनी नाच्न छाड्ने निष्कर्षमा पुगेर गत जेठमा काठमाडौं फर्किन्।

‘नृत्यमा मेरो रूचि थिएन। यौनकर्ममा दिकदार लागेर नाच्न गएकी थिएँ,’ एक दिनको घटना स्मरण गर्दै उनले भनिन्, ‘एक दिन धेरै थकाइ लागेर बसेकी थिएँ। एक जनाले कपाल तानेर घिसार्दै साथीहरू नाचेको ठाउँमा पुर्‍यायो।’

उनले त्यसै दिन नृत्य छाड्ने निधो गरिन्। फेरि आम्दानीको मेलो हरायो, न यौनकर्म रह्यो न नृत्य।

केही दिन यतिकै बित्यो। हातमुख जोर्न केही त गर्नै पर्थ्यो। फेरि साथीकै सहयोगमा यौनकर्ममा फर्किन्। बाँच्ने आधार अहिले यही हो।

‘मलाई यही समाजले यौनकर्मी बनाएको हो, जबरजस्ती धकेलेको हो,’ उनले आफ्नो विवशता प्रकट गरिन्।

यसरी जीवन चलाउँदा पनि उनले आफ्नो लैंगिक तथा यौनिक पहिचान सार्वजनिक गर्न सकेकी छैनन्। आफ्नै समुदायमा मात्रै खुलेकी छन्। घरमा र घरबाट निस्किँदा पुरूष पहिरनमै हुन्छिन्।

‘समाजले अपहेलना नगरोस्, सबै मान्छेसरह ठानोस् जस्तो लाग्छ। यस्तो नभएपछि म सबैतिर खुल्न सकेकी छैन,’ उनले भनिन्, ‘आमाबुबालाई म छोरो भएर पनि छोरी जस्तो छु भन्ने मात्र थाहा छ। पारलैंगिक महिला हुँ, महिलाजस्तै भएर बाँच्न चाहन्छु भन्ने थाहा छैन।’

किपु छोराको शरीर लिएर जन्मेकी थिइन्। हुर्किँदै जाँदा छोरीको पहिरन र शृंगार मनपराउने भइन्। छोरीजस्तै हुन मन लाग्ने भयो। उनको यस्तो स्वभाव आमाबुबा र परिवारका अन्य सदस्यलाई राम्रो लागेन। कहिले गाली पाउँथिन् त कहिले छोरोजस्तो बन्न मायालु सुझाब।

‘म त भावनात्मक र मानसिक रूपमा छोरी नै भइसकेकी थिएँ, उनले भनिन्, ‘गाली गरे पनि, माया गरेर सम्झाए पनि म छोरोजस्तो हुन सकिनँ।’

कलेजमा पढाइकै क्रममा आफूजस्तै भावनाकी साथी भेटिन्। यसपछि आफूजस्तै अरूसँग चिनजान भयो। साथीहरू भेटिएपछि पारलैंगिक महिला रहिछु भन्ने प्रस्ट भइन्।

उनको नागरिकता प्रमाणपत्र पुरूष पहिचानको छ। उनी त्यसमा परिमार्जन गरेर महिला पहिचानको बनाउन चाहन्छन्। यसो गर्न जिल्ला प्रशासन कार्यालयले मेडिकल रिर्पोट माग्छ। चिकित्सकले उनको मन बुझेर ‘महिला हुन्’ भन्ने मेडिकल रिपोर्ट बनाइदिँदैनन्, शरीर हेर्छन्।

‘भनेजस्तो सजिलो छँदै छैन,’ उनले भनिन्।

लैंगिक तथा यौनिक पहिचान प्राकृतिक कुरा हो भन्नेमा उनी भने ढुक्क छिन्। शरीरमा देखिने लिंग जे भए पनि मनले प्राकृतिक रूपमै लिंग निर्धारण गर्दो रहेछ भन्नेमा प्रस्ट छिन्। यस्तो प्राकृतिक अवस्था आत्मसात गरेर लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिहरूलाई सबैले सम्मानजनक व्यवहार गरून्, आत्मसम्मानमा ठेस नपुर्‍याऊन् भन्ने चाहन्छिन्।

उनको मनमा प्रश्न उठ्छ– समाज किन प्रकृतिका विरूद्धमा छ?

उनी यही प्रश्नको जवाफ खोज्दैछिन्।

उनलाई आफ्नो पहिचान बचाउनु छ। परिवार र समाजबाट आफ्नो पहिचान स्वीकार गर्ने वातावरण बनाउनु छ।

भन्छिन्, ‘हामीलाई सामूहिक प्रयासको आवश्यकता छ। राज्य सहयोगी हुनुपर्छ। यसो भयो भने हाम्रो पहिचान पनि सबैलाई स्वीकार्य हुनेछ।’

(यहाँ लेखिएको किपु’ परिवर्तित नाम हो।)

सम्बन्धित समाचार