मिसन २०८४ : गफ गर्नेलाई सुनौं, काम गर्नेलाई चुनौं

मनहरि तिमिल्सिना

काठमाडौं। प्रतिनिधिसभा निर्वाचनको एक वर्ष पुग्दा नपुग्दै एकथरि दलहरू ‘मिसन २०८४’को प्रचारमा छन्। उनीहरूको तर्क छ- ‘यस पटकको निर्वाचनमा बहुमत ल्याउन सकिएन, २०८४ को निर्वाचनमा बहुमत ल्याउँछौं र सत्ता सञ्चालन गर्छौं।’ यो तर्कले जनमतको उपेक्षा गरिरहेको प्रतीत हुन्छ।

मिसन २०८४ सुनिरहँदा प्रसिद्ध साहित्यकार भैरव अर्यालको ‘जय भोलि’ निबन्धको स्मरण आउँछ। अर्यालका अनुसार आजको आलस्य मानिस आफ्ना सामुन्ने आइपरेका कर्तव्य र उत्तरदायित्वलाई परपर पन्छाएर आफू सुखी बन्ने सपना देखिरहेको हुन्छ। ऊ तुरुन्तै गर्न सकिने कामलाई पनि भोलि-भोलि भनी तमाम काम साँचेर आफू र समाजलाई नै निष्क्रियतातर्फ धकेलिरहेको हुन्छ।

अर्यालले आफ्नो व्यंग्यको पहिलो निसाना सिंहदरबारलाई बनाएका थिए, जहाँ हरेक मन्त्रालय, विभाग, तला, कोठा र टेबुलमा सानोभन्दा सानो कामका लागि भोलिको भाका राखिन्छ। यस कार्यालयको सिको गरेर ‘राजाको काम कहिले जाला घाम’ भने झैं सबै निकायका कर्मचारी पनि देश र जनताको काम छिटो फत्ते गर्नुको सट्टा कार्यालयको समय गुजार्नुतिरै ध्यान दिन्छन्।

नेपाली समाजमा भोलिवाद भयानक रोगका रूपमा स्थापित हुँदैछ। आज, भर्खरै, तुरुन्तै गर्ने कामलाई पनि ‘भोलि गरौंला’, ‘भोलि भेटौंला’, ‘भोलि आउनुस्’ जस्ता भनाइ सामान्य हुन थालेका छन्। राजनीतिक दलहरू बैठक बस्छन्, सहमति जुट्दैन। अनि भन्छन्, ‘अर्को बैठक भोलि बस्नेछ।’ प्रशासन, शिक्षा, स्वास्थ्य, सामाजिक जीवनका क्षेत्रहरूमा पनि भोलि प्रवृत्ति झांगिँदो छ।

पुराना दलहरूको विकल्पमा ‘जान्नेलाई छान्ने’ भनिएकाहरू भोलिवादको सबैभन्दा ठूलो दलदलमा फसेका छन्। जान्नेलाई छान्ने नारा दिनेहरू नै सबैभन्दा बढी नजान्ने देखिएका छन्। समाजका सयौं क्षेत्रहरूमध्ये उनीहरूको जान्ने एउटै क्षेत्र छ, त्यो हो- सूचना प्रविधि। त्यसबाहेक हरेक क्षेत्रमा उनीहरू सिकारू मात्र देखिएका छैनन्, कतिपय ठाउँमा त आधारभूत विषयको ज्ञानसमेत नराख्ने अबोध देखिएका छन्।

निर्वाचन सम्पन्न भएको भर्खर एक वर्ष पूरा भएको छ। तर, जनताबाट त्यति ठूलो विश्वासका साथ निर्वाचित भएका जनप्रतिनिधि अहिले नै मिसन २०८४ भन्दै बेतालमा कुदिरहेका छन्। उनीहरूले बुझ्न सकेका छैनन्- अहिले प्राप्त जनमत २०८४ का लागि होइन, अहिले नै काम गर्न हो।

२०७९ को निर्वाचनबाट उदाएका नयाँ दल र नेताहरूले बेलाबेलामा रिपोर्ट कार्ड सार्वजनिक गर्ने गरेका छन्। तर, त्यस्तो कार्डमा भौतिक एवं मानवीय विकासमा ध्यान दिएको पटक्कै देखिँदैन। ‘स्टण्डबाज’का रूपमा फ्याँकिने त्यस्ता कार्डले उल्टो मतदातालाई भ्रमित मात्रै पार्ने गरेका छन्।

नयाँ हुनु वा नजान्नु दोष होइन। तर, जान्न नचाहनु र त्यसका लागि संवेदनशील नहुनु गम्भीर दोष हो। नयाँ दलमा केही नेताहरू अब्बल छन्, उनीहरूसँग विषय विशेषज्ञता र राज्य सञ्चालनको आधारभूत ज्ञान र अनुभवसमेत देखिन्छ। तर, अधिकांश ‘नयाँ’हरू कुहिरोको काग भएका छन्। तर, नयाँ दलले न आफ्ना नेताको क्षमता अभिवृद्धिमा ध्यान दिएको छ न त सकारात्मक सोचको विकासमै। उनीहरूका अभिव्यक्ति र टिप्पणीले आवेगपूर्ण बचपन देखाउँछ। यो चाहिँ साँच्चिकै चिन्ताको विषय हो।

कर्मठहरू गुमनाम छन्, अघिपछि युट्युबरहरू बोकेर हिँड्ने ‘स्टन्डबाज’हरू चर्चामा छन्। अस्पतालमा १८ घण्टा बिरामीको सेवा गर्ने स्वास्थ्यकर्मीको कुनै चर्चा छैन, एक कार्टुन चाउचाउ बाँड्न १२-१५ जना युट्युबर बोकेर हिँड्ने अभियन्ताको चर्चा छ। उही दानी, उही ज्ञानी, उही त्यागीको भ्रमले समाज आक्रान्त छ। नयाँ नयाँ रंगका जोगीको उदयले नागरिक रनभुल्लमा छन्।

नयाँ दलहरू प्रविधिप्रति विज्ञता राख्छन्। तर, प्रविधिको सदुपयोग भएको छ वा दुरुपयोग ? यो चाहिँ बहसकै विषय छ। सीमा बाहिरको गालीगलौज गर्ने, आफूले ढलेको सिन्को नउठाउने, केही गरिरहेका वा गर्न खोजिरहेकामाथि तथानाम गाली गर्ने, श्रम संस्कृतिलाई तिरस्कार गर्ने, सभ्यता, संस्कृति र ज्ञान विज्ञानमाथि प्रहार गर्ने प्रवृत्ति बढोत्तरी हुनुमा उनीहरूको भूमिका सबैभन्दा बढी देखिन्छ।

नयाँ दलका अधिकांश जनप्रतिनिधिहरू नयाँ भूगोलबाट निर्वाचित भएका छन्। त्यसैले उनीहरू त्यहाँको भूगोल, विशेषता र जनतासँग सघन अन्तरक्रियामा थिएनन्। ठूला दलप्रतिको असन्तुष्टि र आवेगका कारण जो नयाँ आउँछन्, उसले नै मत पाउने परिस्थिति थियो। तर, त्यस्तो परिस्थिति सधैँ रहँदैन । २०७९ मा नयाँ भएकाहरू २०८४ सम्म पुराना भइसक्छन्। किनकि मतदाताले दल र नेतालाई एक पटक परीक्षण गर्छन्, पटक पटक गर्दैनन्।

२०६४ को निर्वाचनमा माओवादी नयाँ थियो। त्यसैले राम्रो जनमत प्राप्त गर्‍यो। तर, २०७० को निर्वाचनमा मतदाताका निम्ति माओवादी नयाँ थिएन। किनकि जनताले माओवादीको ६ वर्ष नजिकबाट नियालिरहेका थिए र २०७० को निर्वाचनमा उनीहरूले विकल्प खोजे। २०७९ मा नयाँ भनेर विश्वास गरेका दलहरू २०८४ मा परीक्षित भइसक्छन्। तसर्थ, २०८४ को निर्वाचनमा मतदाताले उनीहरूलाई ‘केही गर्लान्’ भनेर होइन, ‘के गरे’ भन्ने आधारमा मत दिनेछन्।

नयाँ भनिएका सांसदहरू आफ्नो निर्वाचन क्षेत्रमा क्रियाशील छैनन्। एकाधबाहेक संसद् र संसदीय समितिहरूमा उनीहरूको उपस्थिति र वर्चश्व नयाँका रूपमा हुन सकेको देखिँदैन। तर, उनीहरू ‘पोल्टाको वर्तमान’ छोडेर ‘भुईंको २०८४’को पछाडि कुदिरहेका छन्।

नयाँ दलले आफ्नो निर्वाचन क्षेत्रमा के-कति विकास गरे, २०८४ सम्म त्यसको गहन लेखाजोखा हुने नै छ। उनीहरू जनतासँग कति अन्तरक्रिया गरे, जनताको सुखदुःखमा कसरी गाँसिए, त्यसको पनि समीक्षा हुनेछ। २०७९ मा उनीहरूले पुराना दलसँगको असन्तुष्ट मत प्राप्त गरेका हुन्, आफ्नै मत प्राप्त गरेका होइनन्। १० वर्षसम्म जनतासँग नङ-मासुको सम्बन्ध बनाएको माओवादीसँग ६ वर्षमै बिच्किएका जनता ‘नयाँहरू’प्रति कस्तो धारणा बनाउलान्, यो विषय अहिले नै ठोकुवा गर्न कठिन छ।

नयाँ दलहरूले प्राप्त गरेको मत ‘पुराना दलले गरेनन्, यिनीहरू जनताप्रति इमानदार छैनन्, हामी आयौं भने मुलुकको कायापलट गर्छौं’ भन्ने वाचासहित प्राप्त गरेका हुन्। तर, आलोचना गर्न जति सजिलो छ, बजारमा गालीगलौज जति बिक्छ, जिम्मेवारी निभाउने कुरा त्यति सजिलो छैन। जिम्मेवारीमा ज्ञान चाहिन्छ, अनुभव चाहिन्छ, शालिनता र धैर्यता चाहिन्छ, परिपक्वता र बलियो संयन्त्र चाहिन्छ।

हामी आयौं भने विदेशमा रहेका लाखौं युवाहरू स्वदेश फर्काउँछौं भनेकाहरू राजनीतिमा आएपछि युवाहरू विदेशिने क्रम रोकिएको छैन, बरु बढ्दो छ। विदेशमा रहेका १०० युवालाई स्वदेश फर्काउने प्रचारबाजी पनि असफल भएको छ।

निर्वाचनअघि ‘स्टन्ड’ स्वाभाविक मानिए पनि निर्वाचनपछिको ‘स्टन्ड’ झन् डरलाग्दो देखिन्छ। अघिपछि युट्युबरको लावालस्कर बोकेर हिँड्ने, काम चाहिँ गर्दै नगर्ने, प्रचार मात्रै गर्ने प्रवृत्तिबाट देश र जनताले केही पनि पाउँदैनन्। बरु देश बरबादीतर्फ धकेलिन्छ। तर, यो मनोविज्ञान घट्दो नभएर बढ्दो छ।

कार्तिक १७ गतेको भूकम्पले जाजरकोट र पश्चिम रुकुममा ठूलो धनजनको क्षति भयो। सबै दलहरू उद्धार, राहत र पुनःस्थापनामा सक्रिय भए। उनीहरूले जनताका लागि टहरा बनाए। तर, नयाँ भनिएकाहरू एउटा ढुंगो उचाल्दा १२-१५ जनता युट्युबरबाट फोटो, भिडियो खिचाउँछन्, सामाजिक सञ्जालमा पोष्टाउँछन् र जनतामा भ्रम छर्छन्। पुराना दलहरूले भूकम्प पीडितका लागि हजारौं अस्थायी आवास निर्माण गर्दा ‘नयाँ दलले एउटै आवास बनाएनन्, फोटो/भिडियो खिचाएर फर्किए’ भन्ने तथ्यले उनीहरूको राजनीतिक नियत प्रष्टिन्छ।

जनताले संसद्का सबै दललाई दिएको मत २०७९ देखि २०८४ सम्म राम्रो काम गरून् भनेर हो, वर्तमानको जिम्मेवारी बेवारिसे छोडेर मिसन २०८४ को पछाडि कुदुन् भनेर होइन। स्वतन्त्रतावादी नेता यासेर आराफात भन्छन्, ‘हाम्रो उद्देश्य शून्यमा महल बनाउने होइन, धर्तीमा झुपडी बनाउने हुनुपर्छ।’ तसर्थ, नयाँ दल र नेताहरूले मिसन २०८४ को भोलिवादी झोली छोडेर वर्तमानमा जनताले सुम्पिएको जिम्मेवारी पूरा गरून्, जनमतको सम्मान गरून् र ‘स्टन्डबाजी’ राजनीति त्यागुन्।

सम्बन्धित समाचार