+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सुर्खेतमा रक्सी खाएर मतदान अधिकृत, म्यादी र गाउँलेलाई कुट्ने सई प्रहरी नियन्त्रणमा

Bhojpur paani
अत्रिदेव खबर
२०७९ बैशाख २९, बिहिबार

सुर्खेतको पञ्चपुरी नगरपालिकामा निर्वाचनका लागि खटिएका एकजना प्रहरीले मतदान अधिकृत, म्यादी प्रहरी र गाउँलेलाई कुटपिट गरेका छन्।

 

पञ्चपुरी नगरपालिका-७ धनबोटमा रहेको नेपाल राष्ट्रिय आवासीय विद्यालयको मतदान केन्द्रमा खटिएका वरिष्ठ सई (प्रहरी नायब निरीक्षक) नरेन्द्रप्रसाद भट्टले मतदान अधिकृत, सहायक मतदान अधिकृत र ड्युटीमा खटिएका म्यादी प्रहरीमाथि कुटपिट गरेका हुन्।

कुटपिटबाट केन्द्रका मतदान अधिकृत निरज झा, सहायक मतदान अधिकृत राजेन्द्र धमलासहित केही स्थानीय र म्यादी प्रहरीहरू सामान्य घाइते छन्।

बुधबार राति उनले मतदान अधिकृत, म्यादी प्रहरी र गाउँलेलाई कुटपिट गरेका हुन्।

 

कर्णाली प्रदेश प्रहरीका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरीषक राजेशनाथ बास्तोलाका अनुसार ती प्रहरी अधिकृतले मादकपदार्थ सेवन गरी मतदान केन्द्रमा पुगेर कुटपिट गरेका थिए। निर्वाचनका बेला प्रहरी कर्मचारीबाटै अमानवीय व्यवहार भएकाले सई भट्टलाई कारबाहीको प्रक्रिया सुरू गरिएको एसएसपी बास्तोलाले बताए।

निर्वाचनका बेला शान्ति सुरक्षामा खटिएका प्रहरी कर्मचारीबाटै यस्तो व्यवहार हुनु गलत हो, हामीले उनलाई नियन्त्रणमा लिइसकेका छौं,’ बास्तोलाले भने, ‘जिल्लामा ल्याउँदै छ, आवश्यकताअनुसार निलम्बन गरेर कारबाही प्रक्रिया अगाडि बढाउँछौं।’

सई भट्टलाई बिहीबार बिहान ३ बजेतिर प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।

 

मदिरा सेवन गरेका वरिष्ठ सई भट्ट बुधबार राति ११ बजेतिर धनबोट गाउँ पसेका थिए। त्यहाँ चार जना स्थानीयको घरभित्र पसेर हतियार देखाउँदै उनले कुटपिट गरेको एक स्थानीयले  बताए।

राति गाउँलेबाट लखेटिएपछि प्रहरी र म्यादी प्रहरीले उनलाई उद्धार गरी मतदान अधिकृतलगायतका कर्मचारी सुतेको घरमा ल्याएका थिए। त्यहाँ पुगेपछि उनले सुरूमै मतदान अधिकृत र सहायक मतदान अधिकृतमाथि हातपात गरेका थिए।

 

कुटपिट गर्ने भट्ट सशस्त्र प्रहरी गण वीरेन्द्रनगरमा सहायक लेखा अधिकृत हुन्। उनलाई निर्वाचन सुरक्षाका लागि पश्चिम सुर्खेत खटाईएको थियो।

२०७९ बैशाख २९, बिहिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७९ बैशाख २९, बिहिबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर