+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

पुराना मुद्दाको चाप घटाउने कार्ययोजना बनाउन मुद्दा व्यवस्थापन समितिलाई जिम्मेवारी

Bhojpur paani
अत्रिदेव खबर
२०७९ बैशाख २९, बिहिबार

सर्वोच्च अदालतका सबै न्यायाधीशको बैठक (फूलकोर्ट) ले पुराना मुद्दाको चाप घटाउने कार्य योजना बनाउन मुद्दा व्यवस्थापन समितिलाई जिम्मेवारी दिएको छ।

 

न्यायाधीश विश्वम्भर श्रेष्ठको संयोजकत्व मुद्दा व्यवस्थापन समितिलाई आवश्यक गृहकार्य गरेर सुधारका मार्गचित्र सहितको कार्ययोजना बनाउन फूलकोर्टले जिम्मेवारी दिएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए।

उनका अनुसार आजको फूलकोर्टमा न्यायाधीश तिलप्रसाद श्रेष्ठले पुराना मुद्दा घटाउने योजना प्रस्तुत गरेका थिए। उनको प्रस्तुतिपछि समितिलाई आवश्यक गृहकार्य गर्न भनिएको हो।

न्यायाधीश श्रेष्ठले बक्यौता मुद्दा सर्वोच्चको नियन्त्रणभन्दा बाहिर गएकाले अब केही कदम नचाली नहुने भएको बताएका थिए। त्यसपछि उनले पाँच वर्ष पुराना मुद्दालाई दुई वर्षमै शून्यमा झार्न सकिने उपायबारे उल्लेख गरे। पुराना मुद्दामात्र हेर्ने गरी त्यसका लागि पाँच वटा इजलास तोक्नुपर्ने उनको सुझाव छ।

 

यसो गरे अर्को दुई वर्षमा पाँच वर्ष नाघेका १३ हजार मुद्दा शून्यमा झार्न सकिने उनको प्रस्तुतिमा उल्लेख थियो।

उनले बक्यौता मुद्दा न्यूनीकरणका लागि सर्वोच्च अदालत एक्लैले नसक्ने नेपाल बार एसोसिएसन र महान्यायाधीवक्ता कार्यालयको समेत सहयोग चाहिने समेत बताएका थिए।

उनले सिंगापुर लगायतका १४ मुलुकले कसरी पुराना बक्यौदा मुद्दा न्यूनीकरणमा काम गरे भन्ने उदाहरण पनि दिएका थिए।

 

न्यायाधीश विश्वम्भर श्रेष्ठ नेतृत्वको समितिले यो प्रस्तुतिमा आधारीय भएर मुद्दा संख्या घटाउन गर्नुपर्ने अरू काम के/के हुन् भन्नेबारे अध्ययन गर्ने, बार र महान्यायाधीवक्ता कार्यालयसँग सहमति खोज्ने लगायतका काम गरेर कार्ययोजना बनाउने छ।

सर्वोच्च अदालतले उपलब्ध गराएको बुधवारसम्मको तथ्याङक अनुसार अहिलेसम्म सर्वोच्च अदालतमा विचाराधीन मुद्दाको संख्या ३० हजार १७ छ। ती मध्ये पाँचवर्ष नाघेका मुद्दामात्र चार हजार आठ सय २७ वटा छन्। दुई वर्ष नाघेर पाँच वर्षसम्मका मुद्दा १७ हजार सात सय ६७ वटा छन्।

२०७९ बैशाख २९, बिहिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७९ बैशाख २९, बिहिबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर