+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

६६ लाख ६४ हजार बढी भ्रष्टाचार गरेको आरोपमा ६ जनाविरूद्ध मुद्दा

Bhojpur paani
अत्रिदेव खबर
२०७९ बैशाख २८, बुधबार

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तत्कालीन जिल्ला प्राविधिक कार्यालयका प्रमुख जिल्ला इन्जिनियरसहित ६ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ।

 

६६ लाख ६४ हजार ६९२ रुपैयाँ भ्रष्टाचार गरेको भन्दै मंगलबार अख्तियारले ६ जनाविरूद्ध काठमाडौंस्थित विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियार प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।

तत्कालीन प्रमुख जिल्ला इन्जिनियर राजकुमार गोइत, इन्जिनियर उग्रानन्द पाठक, लेखापाल छत्रबहादुर श्रेष्ठ, माँ जानकी निर्माण सेवाका प्रोप्राइटर भुपेन्द्र यादव, एभरेष्ट निर्माण सेवाका प्रोप्राइटर विजयकुमार यादव र अन्नपूर्ण कन्सट्रक्सनका प्रोप्राइटर ममता देवी यादवविरूद्ध अख्तियारले भ्रष्टाचारको मुद्दा दायर गरेको हो।

ग्रामीण यातायात सुदृढीकरण कार्यक्रमतर्फको नियमित सडक मर्मतसम्भार र रूख बिरूवा रोप्ने कार्य गर्दा प्रक्रिया नपुर्‍याइ भुक्तानी गरेको भन्ने उजुरी परेको थियो।

 

त्यसअन्तर्गत रूपनगर, सवानपुर, पथरी, घोघनपुर समेतका सडकखण्ड ग्रावेल सप्लाइ गर्ने र बोटविरूवा रोप्नुपर्थ्यो।

त्यस उजुरीमाथि अनुसन्धान हुँदा इन्जिनियरहरू गोइत, पाठक र लेखापाल श्रेष्ठले वास्तविक रूपमा भएको कामभन्दा बढी परिमाणको काम गरेको भनी गलत विवरण पेस गरेको अख्तियारको दाबी छ। त्यसरी झूटा बिल भरपाइ बनाएर ६६ लाख ६४ हजार ६९२ रुपैयाँ भुक्तानी दिने र लिने गरेको पाइएको प्रवक्ता भण्डारीले बताए।

उनका अनुसार उनीहरूले माँ जानकी निर्माण सेवा, अन्नपूर्ण कन्स्ट्रक्सन र एभरेष्ट निर्माण सेवासँगको मिलेमतोमा भ्रष्टाचार गरेका थिए।

 

अख्तियारले आरोपपत्रमा इन्जिनियरद्वयमाथि ६६ लाख ६४ हजार ६९२ रुपैयाँ बिगो कायम गरी सजायको मागदाबी गरेको छ।

त्यस्तै, लेखापाल श्रेष्ठविरूद्ध दुई लाख ५४ हजार ७१० रुपैयाँ, भूपेन्द्र यादवविरूद्ध २१ लाख २४० रुपैयाँ, विजयकुमार यादवविरूद्ध २६ लाख ५४ हजार २१४ रुपैयाँ र ममतादेवी यादवविरूद्ध १९ लाख १० हजार २३६ रुपैयाँ बिगो कायम गरी सजायको मागदाबी गरेको छ।

२०७९ बैशाख २८, बुधबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७९ बैशाख २८, बुधबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर