+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

दाङमा एमालेका वडाध्यक्ष उम्मेदवारको निधन

Bhojpur paani
अत्रिदेव खबर
२०७९ बैशाख २७, मंगलबार

दाङको तुलसीपुर उपमहानगरपालिकामा नेकपा एमालेका तर्फबाट वडाध्यक्षका उम्मेदवार लवरू चौधरीको निधन भएको छ।

 

उनी तुलसीपुर वडा नम्बर १७ मा उम्मेदवार थिए। चौधरीको काठमाडौंमा उपचारका क्रममा निधन भएको हो।

 

एमाले तुलसीपुर अध्यक्ष माधव वलीले चौधरीको उपचारका क्रममा मृत्यु भएको  बताए।

वडा नम्बर १७ बघौसीका ५३ वर्षीय चौधरी बिरामी भएपछि चार दिनअघि काठमाडौं लगिएको थियो।

 

उनको कलेजोमा समस्या रहेको भन्ने बुझिएको वलीले जानकारी दिए।

 

चुनाव प्रचारप्रसारका क्रममा बिरामी परेपछि उनलाई उपचारका लागि दुई पटक नेपालगन्जस्थित भेरी अस्पतालमा लगिएको थियो।

त्यहाँ उपचार संभव नभएपछि थप उपचारका लागि काठमाडौंको शिक्षण अस्पतालमा लगिएको थियो।

 

वलीका अनुसार चौधरी ०७४ को चुनावमा तुलसीपुर १७ को वडा सदस्यमा निर्वाचित भएका थिए।

 

चौधरीको शव दाङ ल्याउने तयारी भइरहेको पारिवारिक स्रोतले बताएको छ।

 

वडाको निर्वाचन स्थगित हुन्छ: निर्वाचन अधिकृत

वडाध्यक्षका उम्मेदवारको निधन भएपछि वैशाख ३० मा यो वडामा निर्वाचन नहुने भएको छ।

 

निर्वाचन अधिकृत राजेश्वर अर्यालले यो वडामा निर्वाचन स्थगित हुने बताए।

 

एमालेबाट उम्मेदवारको मृत्यु भएको भन्नेबारे उक्त पार्टीले आधिकारीक जानकारी हालसम्म नपठाएको भए पनि आफूहरुसम्म त्यो सूचना भने आइसकेको उनले बताए।

हामीले निर्वाचन आयोगमा सूचना पुगाइसकेका छौं,’ अर्यालले भने, ‘त्यो वडाको निर्वाचन स्थगित हुने भयो। त्यो बाहेक पालिकै निर्वाचन स्थगित गर र एकै पटक गरौंला पनि आयोगले भन्ने सक्छ।’

 

आयोगको निर्देशनअनुसार आफूहरु अगाडि बढ्ने हुँदा आयोगको निर्णय पर्खिनु पर्ने उनले बताए।

 

 

२०७९ बैशाख २७, मंगलबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७९ बैशाख २७, मंगलबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर