+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

निर्वाचन आयोगले अहिलेसम्म क-कसलाई सोध्यो स्पष्टीकरण?

अत्रिदेव खबर
२०७९ बैशाख २३, शुक्रबार

निर्वाचन आयोगले स्थानीय तह चुनावका लागि बनाइएको आचारसंहिता उलङ्घन गर्नेहरूलाई स्पष्टीकरण सोधेको छ।

 

आयोगले राजनीतिक दल वा व्यक्ति तथा संस्थाहरूलाई स्पष्टीकरण सोध्ने गरेको छ।

 

अवस्था हेरेर २४ घन्टाभित्र वा केही समय दिएर स्पष्टीकरण दिन आयोगले समय दिने गरेको हो।

वैशाख ३० मा हुने स्थानीय तह चुनावका लागि आयोगले आचारसंहिता बनाई राजपत्रमा प्रकाशित गर्दै कार्यान्वयनमा ल्याएको थियो।

 

आचारसंहिता कार्यान्वयनमा ल्याउनुअघि आयोगले दलका प्रतिनिधि बोलाएर प्रतिवद्धता खोजेको थियो। दलका प्रतिनिधि आयोग पुगेर प्रतिवद्धता जनाएका थिए।

 

निर्वाचन आचारसंहिताविपरीत हुने गरी काम गर्ने ३७ जनालाई आयोगले बिहीबारसम्म स्पष्टीकरण सोधिसकेको छ।

नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाको मेयर पदका उम्मेदवार केशव स्थापितलाई आयोगले पटकपटक स्पष्टीकरण सोधेको छ। स्थापितका अभिव्यक्तिलाई लिएर उजुरी पर्ने गरेका छन्। स्थापितले स्पष्टीकरण बुझाउँदै आएका छन्।

 

यस्तै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई पनि आयोगले स्पष्टीकरण सोधेको छ। कैलारी गाउँका अग्निपीडितलाई ५० हजारका दरले राहत दिने प्रक्रिया बढाएको आरोप उनीमाथि छ।

साथै निर्वाचन पर्यवेक्षण समिति, नेपालका अध्यक्ष प्रदीप पोखरेललाई निर्वाचन आचारसंहिता, २०७८ प्रतिकूल हुनेगरी अभिव्यक्ति दिएकाले २४ घण्टाभित्र लिखित स्पष्टीकरण दिन आयोगले निर्देशन दिएको छ।

पोखरेलले निर्वाचन आयोग, माननीय आयुक्त, आयोगबाट जारी भएको निर्वाचन आचारसंहिता, २०७८ र म्यादी प्रहरीलाई लाञ्छना लगाउने अभिव्यक्ति दिएका थिए।

उम्मेदवार चौधरीले एक महिलालाई रु दुई हजार नगद दिएको तथा अर्को मानिसलाई पाइप दिएकोसमेत व्यहोराको निवेदन आयोगलाई वैशाख २० गते प्राप्त भएको थियो।

यस्तै सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१० का वडाध्यक्ष पदका उम्मेदवार अमृत खनालले मतदाताको पाउमा हजारको नोट राखेर भोट माग्दै गरेको फोटोसहितको समाचार आएकाले निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ बमोजिम किन कारवाही नगर्ने हो भनेर २४ घण्टाभित्र आधार प्रमाणसहित स्पष्टीकरण पेश गर्न आयोगले निर्देशन दिएको छ।

बागमती प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तानले स्थानीय तह निर्वाचनमा उम्मेदवारको प्रचारप्रसारमा निरन्तर खटिएको भन्ने समाचार विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालबाट जानकारीमा आएकाले सो कार्य निर्वाचन आचारसंहिता, २०७८ विपरीतकोे देखिएकाले २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न आयोगले आदेश दिएको छ।

रूपन्देहीको तिलोत्तमा नगरपालिकाका नगरप्रमुख वासुदेव घिमिरे नेपाल कम्युनिष्ट पार्टी (एमाले) को उम्मेदवारको प्रचारप्रसारमा खटिएको भन्ने फोटोसहितको समाचार विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालबाट जानकारी हुन आएकाले आयोगले निर्वाचन आचारसंहिता, २०७८ विपरीतको कार्य केकति कारणले गर्नुभएको हो भनी आयोगले चौबीस घण्टाभित्र आधार प्रमाणसहित स्पष्टीकरण दिन भनेको छ।

२०७९ बैशाख २३, शुक्रबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७९ बैशाख २३, शुक्रबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ