+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कारले किचेर तीन पैदलयात्रुको मृत्यु प्रकरणः चालकलाई पुर्पक्षका लागि पठाइयो थुनामा

अत्रिदेव खबर
२०७९ बैशाख २२, बिहिबार

बाँकेमा राति कारले किचेर तीन जनाको मृत्यु भएको घटनाका आरोपी कार चालकलाई बाँके जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ।

 

कार चालक नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १० का इन्द्रबहादुर थापालाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो।

गत चैत २७ गते बिपी चोकनजिकै थापाले चलाएको कारले किच्दा सडकमा हिँडिरहेका तीन पैदलयात्रुको मृत्यु भएको थियो। मृत्यु हुनेमा नेपालगञ्जकी ६५ वर्षीया समिना इदिसी, ५ वर्षीय मोहम्मद कासिम इद्रिसी र ६ वर्षीय मोहम्मद अली हलवाई थिए। समिना र कासिम नातेदार र अली हलवाई उनीहरूका छिमेकी हुन्।

यही मुद्दामा बाँके जिल्ला अदालतमा बिहीबार भएको थुनछेक बहसमा न्यायाधीश ईश्वरी प्रसाद भण्डारीको एकल इजलासले चालक थापालाई पुर्पक्षका लागि थुनामा पठाएको हो।

 

थापाले कार तीव्र गतिमा चलाएको हुँदा पैदलयात्रुलाई किचेको सिसीटिभी फुटेज तथा प्रमाण समेतको आधारमा अदालतले उनलाई थुनामा पठाएको हो।

मुद्दाको सुनवाइमा पीडित जाहेरवालाको तर्फबाट जिल्ला सरकारी वकिल कार्यालय, बाँकेका जिल्ला न्यायाधीवक्ता वासुदेव शर्मा, सहन्याधीवक्ता दामोदर गौतम, अधिवक्ताद्वय विश्वजित तिवारी र पुनम श्रेष्ठ र प्रतिवादीका तर्फबाट वरिष्ठ अधिवक्ता भोलासिंह हमाल, अधिवक्ताहरू सुनिल श्रेष्ठ, लोकबहादुर शाह र गणेश थारूले बहस गरेका थिए।

बहसमा पीडितको तर्फबाट सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष अधिवक्ता विश्वजित तिवारी लगायतको समूहले कानुनी सहयोग गरेको छ। संस्थाले गरिब तथा असहाय पीडित र न्याय नपाएकाहरूका लागि निःशुल्क कानुनी सेवा प्रदान गर्दै आएको छ।

सवारी तथा यातायात ऐन २०४९ को दफा १६१ (१) अनुसार चरम लापरबाही तारिकाले सवारी चलाएर जानीजानी मारेको अवस्था रहे जन्मकैदको सजायको समेत व्यवस्था रहेको अधिवक्ता बलबहादुर चन्दले बताए।

 

दुर्घटनापछि जिल्ला प्रहरी कार्यालय, बाँकेले चालकले मादक पदार्थ सेवन गरेको देखिन आएको जानकारी दिएको थियो।

२०७९ बैशाख २२, बिहिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७९ बैशाख २२, बिहिबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ