+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

आईजीपी बढुवा विवाद : एआईजी थापा काममा फर्किए

अत्रिदेव खबर
२०७९ बैशाख २०, मंगलबार

सरकारले धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक (आईजीपी) मा बढुवा गरेपछि असन्तुष्टि जनाउँदै विदामा बसेका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सहकुलबहादुर थापा काममा फर्किएका छन् ।

तेस्रो नम्बर वरीयताका एआईजी आईजीपी बनाएको भन्दै एआईजी विश्वराज पोखरेल र सहकुलबहादुर थापाले विदा लिएका थिए । पोखरेलको एक महिना र थापाको १० दिन विदा निवर्तमान प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले स्वीकृत गरिदिएका थिए ।

तर सोमबार गृहमन्त्री बालकृष्ण खाण, गृहसचिव टेकनारायण पाण्डे र प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहसँग भेट गरेपछि उनी काममा फर्किन सहमत भएका हुन् । निर्वाचन सेलको कमाण्डर रहेका थापा चुनावको मुखमा विदा बस्दा असर पुग्ने निष्कर्षसहित उनलाई काममा फर्किन भनिएको थियो ।

एआईजी थापाका अनुसार बुधबारबाट उनले प्रहरी प्रधान कार्यालयको कार्य विभाग हाजिर गर्नेछन् । मंगलबार सार्वजनिक विदा भएकाले घरबाट निर्वाचनसम्बन्धी नियमित रिपोर्टिङ लिइरहेको प्रहरी प्रधान कार्यालय स्रोतले बतायो । स्रोतले भन्यो, ‘सरकारी विदा भएकाले उहाँ आज कार्यालय आउनु भएन, तर घरबाटै नियमित रिपोर्टिङ लिने र ब्रिफिङ गर्ने काम गरिरहनु भएको छ ।’

एआईजी पोखरेलले चाहिँ सर्वोच्च अदालतमा सरकारको निर्णयविरुद्ध रिट निवेदन दिएका छन् । रिटमाथि बुधबार सुनुवाइ हुँदैछ । आफू वरियतामा अगाडि रहे पनि सरकारले अन्याय गरेको उनको दाबी छ । दोस्रो नम्बर वरियताका थापाले पनि अदालत जाने बताएका थिए । तर गृहमन्त्रीसँग भेट गरेपछि नियमित काममा फर्किएका हुन् ।

गृहसचिव पाण्डेले चाहिँ सरकारले कार्यक्षमता र दक्षताको मूल्यांकनको आधारमै सिंहलाई आईजीपीमा बढुवा गरिएको बताएका छन् । उनले भनेका छन्, ‘सँगै भर्ना भएका हुनाले ज्येष्ठता भन्ने कुरा हुँदैन, एउटै ब्याचका योग्य मध्येबाट सिंहलाई आईजीपी बनाइएको हो ।’

२०७९ बैशाख २०, मंगलबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७९ बैशाख २०, मंगलबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ