खोटाङको दिक्तेल शहरी खानेपानी तथा सरसफाई आयोजनाले वितरण सुरु गरेको खानेपानीको महसुल महँगो भएको उपभोक्ताले गुनासो गरेका छन् ।उपभोक्ताले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको रम्बाखोला, माझखोला र काउले मुहान भएको खानेपानी आयोजनाको महसुल अस्वभाविक रुपमा महँगो बनाइएको गुनासो गरेका हुन् ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका उपभोक्ताले र वडा कार्यालयमा ध्यानाकर्षण पत्र बुझाउँदै उपभोक्ताको हित अनुकुल हुनेगरी खानेपानीको महसुल निर्धारणको पहल गर्न माग गरेका छन् । न्यूनतम प्रतियुनिट १५ रुपैयाँदेखि ७५ रुपैयाँसम्म महसुल निर्धारण हुँदा कतिपय सामान्य परिवारका उपभोक्ताले खानेपानी उपभोग गर्न सक्ने अवस्था नभएको स्थानीय कृष्ण आचार्यले बताए ।
खानेपानीको निर्धारित नयाँ महसुल दर हेरफेर नभएसम्म उपभोक्तालाई दिइएकोे बिलमा उल्लेख रकम नबुझाउने ध्यानाकर्षणपत्रमा भनिएको छ । दिक्तेल शहरी खानेपानी तथा सरसफाई आयोजनाको पानी वितरणअघि मासिक दुई सय महशुल बुझाउँदै आएका कतिपय उपभोक्ताको ३ हजार ९०० सम्म बिल उठेको उपभोक्ताको भनाई छ ।
रम्बाखोला माझखोला साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था र पानीपोत महसुल शुल्क निर्धारण सुझाव समितिको १४ फागुनमा बसेको बैठकले १ युनिटदेखि ८ युनिटसम्म न्यूनतम २५० रुपैयाँ, ८ युनिटदेखि १५ युनिटको प्रतियुनिट १५, २० युनिटदेखि २५ युनिटसम्म प्रतियुनिट २५, २५ युनिटदेखि ३० युनिटसम्म प्रतियुनिट ५० र ३० देखि माथि प्रतियुनिट ७५ रुपैयाँ महसुल दर रेट निर्धारण गरेको थियो ।
खानेपानी मन्त्रालय, खानेपानी तथा ढल व्यवस्थापन विभाग, शहरी खानेपानी तथा सरसफाई (क्षेत्रगत) आयोजनाको ७० प्रतिशत र उपभोक्ता समितिको ३० प्रतिशत गरी २२ करोड ५५ लाख ५८ हजार ८७९ रुपैयाँ (भ्याट सहित)को लागतमा खानेपानी आयोजना सञ्चालनमा ल्याइएको हो ।
१८ महिनाभित्र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको दिक्तेल बजार तथा आसपासका वडामा प्रशोधित एवं शुद्ध पानी वितरण गर्ने लक्ष्यकासाथ १४ चैत २०७५ देखि योजनाको काम सुरु गरिएको थियो । आयोजनाको कतिपय मिटर लिकेज हुने समस्या देखिएको छ ।
आयोजना केही समयपछि उद्घाटनको तयारी गरिएको छ ।