+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एमसीसीबारे नेपालको व्याख्यात्मक घोषणामा अमेरिका मौन

Bhojpur paani
अत्रिदेव खबर
२०७८ फागुन १६, सोमबार

अमेरिकी सहयोग सम्बन्धी सम्झौता एमसीसी प्रतिनिधिसभाबाट अनुमोदन भएपछि अमेरिकाले एमसीसी परियोजना कार्यान्वयनको दिशामा अघि बनेको प्रतिक्रिया दिएको छ । तर, नेपाले राखेको १२ बुँदे व्याख्यात्मक घोषणामा मौन बसेको छ ।

१२ बुँदे व्याख्यात्मक घोषणासँगै प्रतिनिधिसभाबाट आइतबार एमसीसी सम्झौता अनुमोदन भएपछि काठमाडौंस्थित अमेरिकी राजदूतावासले विज्ञप्ति जारी गर्‍यो । विज्ञप्तिमा प्रतिनिधिसभाबाट अनुमोदन भएसँगै एमसीसी कार्यान्वयनको दिशामा अगाडि बढ्न सक्ने अवस्था बनेको उल्लेख छ । ५० करोड अमेरिकी डलरको एमसीसी कम्प्याक्ट अनुमोदन भएसँगै नेपाली जनताका लागि थप रोजगारीको सिर्जना हुने, विद्युत् सेवाको आपूर्तिमा वृद्धि हुने र ढुवानीको खर्च घट्ने विश्वास विज्ञप्तिमामार्फत व्यक्त गरिएको छ ।

आर्थिक स्वतन्त्रता र लोकतान्त्रिक सिद्धान्तको प्रवर्द्धन तथा भ्रष्टाचारविरुद्धको लडाइँसहितको सुशासनप्रति कटिबद्ध विकासोन्मुख राष्ट्रहरूसँग साझेदारी गर्दै एमसीसी कम्प्याक्टले विश्वभर गरिबी निवारणमा मद्धत गर्ने उदेश्य रहेको विज्ञप्तीमा भनिएको छ ।

तर, नेपालमा एमसीसीलाई लिएर अनेकन आशंकाहरू जन्मिएका थिए । ती आशंकाहरूलाई चिर्नका लागि प्रतिनिधिसभाले १२बुँदे व्याख्यात्मक घोषणा समेत एमसीसी सम्झौतासँगै पारित गरेको छ ।

१२ बुँदे व्याख्यात्मक घोषणामा नेपाल, अमेरिकाको कुनै पनि सैन्य गठबन्धनमा सामेल नहुने, नेपालको संविधान कम्प्याक्ट र कम्प्याक्टसँग सम्बन्धित अन्य सम्झौताहरू भन्दा माथि रहेको, एमसीए-नेपालको सबै क्रियाकलाप तथा कोषको लेखा परीक्षण महालेखा परीक्षकबाट गर्ने र बौद्धिक सम्पत्तिहरू नेपालको स्वामित्व रहनेलगायतका विषय छन् ।

साथै, एमसीसीका क्रियाकलाप/कार्यक्रम सञ्चालन गर्दा नेपालको कानून वा नीति उल्लंघन भएका ठहर गर्दा ३० दिनको पूर्वलिखित पूर्वसूचना दिई कम्प्याक्ट अन्त्य गर्न पाउने अधिकार रहने पनि घोषणा गरिएको छ ।

यो व्याख्यात्मक घोषणा पारित गर्दै गर्दा सांसदहरूले कार्यान्वयनको सुनिश्चितता खोजेका थिए । तर, अमेरिकी राजदूतावास विज्ञप्ति जारी गर्दा १२ बुँदे व्याख्यात्मक घोषणामा मौन बसेको छ ।

२०७८ फागुन १६, सोमबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७८ फागुन १६, सोमबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर