कोभिड भ्याक्सिनको बुस्टर डोज कति आवश्यक ?

कमजोर प्रतिरोधी क्षमता हुनेहरूले एमआरएनए भ्याक्सिन (संक्रामक रोगबाट जोगाउन एक प्रकारको नयाँ भ्याक्सिन)को बुस्टर डोज पनि लगाउन पाउने भएका छन् । प्रतिरोधी क्षमता कम भएका र कोभिड संक्रमणको तेस्रो लहरको जोखिम पनि बढेका कारण संक्रमणको असर कम गर्न बुस्टर डोज अर्थात् थप एक डोज भ्याक्सिन लगाउन सकिने एफडिए र सिडिसीले मान्यता दिइसकेका छन् । खासगरी, अंग प्रत्यारोपण गरेका र इम्युनोकम्प्रमाइज्ड अर्थात् स्वास्थ्य समस्याका कारण प्रतिरोधी क्षमता कमजोर भएका व्यक्तिहरूलाई थप डोज लगाउन आग्रह गरिएको हो ।

एफडिएले फाइजर र मोडेर्ना खोपको तेस्रो डोज, दोस्रो डोजको २८ दिनपश्चात् लगाउन मिल्ने जनाएको छ । यस्तै, फाइजर भ्याक्सिनको तेस्रो डोज १२ वर्षभन्दा माथि उमेरसमूह र मोडेर्ना भ्याक्सिनको तेस्रो डोज १८ वर्षभन्दा माथिका व्यक्तिमा मात्र लगाउन मिल्ने मापदण्ड बनाएको छ । तर, एउटा डोज मात्रै प्रयोगमा ल्याइएको जोनसोन खोपमा भने बुस्टर डोजबारे अहिलेसम्म अध्ययन भएको पाइँदैन । हाल नेपालमा १३ लाख ४७ हजारभन्दा बढी डोज लगाइसकेको जोनसोनको खोप लगाएका इम्युनोकम्प्रमाइज्ड व्यक्तिहरूमा अर्को डोज लगाउने मिल्ने वा नमिल्ने भन्ने विषयमा टुंगो नभएको चिकित्सकहरू बताउँछन् ।

तेस्रो डोज लगाउनेबारे विश्वभर अध्ययन जारी
इम्युनोकम्प्रमाइज्डमा मात्र नभई स्वस्थ व्यक्तिमा समेत बुस्टर अर्थात् प्रतिरोधी क्षमता बढाउने तेस्रो डोज प्रयोगबारे विश्वभरि नै अध्ययन भइरहेको छ । बेलायत, फ्रान्स, जर्मनीजस्ता २२ देशले बुस्टर भ्याक्सिन लगाउने तयारी गरिरहेका छन् । सामान्यतया खोपको पूरा डोज लगाइसकेका देशहरूमा केही समयको अन्तरालपछि कोभिडविरुद्ध शरीरमा प्रतिरोधी क्षमता बुस्ट गर्न भ्याक्सिनको तयारी भइरहेको छ । अधिकांश देशमा दोस्रो डोज लगाइसकेको ६ महिनादेखि एक वर्षको अन्तरालमा बुस्टर खोप लगाउन सकिनेबारे अध्ययन भइरहेको छ ।

बुस्टर खोपका लागि फाइजर र मोडेर्नाले १ अगस्टमा युरोपियन युनियनसँग खरिद सम्झौतासमेत गरिसकेको रोयटर्सले जनाएको छ । यस्तै, मोडेर्नाले यसअघि नै स्पेनको रोभी र स्विट्जरल्यान्डको रोन्जा कम्पनीसँग ५० माइक्रोग्राम डोज उपलब्ध गराउने सम्झौता गरिसकेको जनाएको छ । अर्थात्, कोभिडको दुइटै डोज लगाइसकेका युरोपका अधिकांश देशले बुस्टर डोजका लागि समेत अग्रिम तयारी गरिरहेको खोप उत्पादक कम्पनीहरूले जनाएका छन् ।

मोडेर्नाले ५ अगस्टमा दोस्रो डोज लगाएको चारदेखि ६ महिनासम्ममा बुस्टर डोज प्रयोग गर्न सक्ने जनाएको छ । योसँगै बुस्टर डोज ट्रायल परीक्षणमा देखिएको प्रभावकारिताभन्दा कम नभएको अर्थात् ९३ प्रतिशत प्रभावकारी हुनेसमेत दाबी गरेको छ । यस्तै, इजरायलका प्रधानमन्त्रीले गत साता ६० वर्षभन्दा माथि उमेरसमूहमा बुस्टर खोप लगाउने निर्णय गरेका छन् । योसँगै अन्य ११ देशले समेत वृद्धवृद्धामा बुस्टरको अनिवार्य प्रयोगको तयारी भइरहेको जनाएका छन् ।

प्रतिरोधी क्षमता कम भएकामा खोपको प्रभावकारिता न्यून
अंग प्रत्यारोपण गरेका, क्यान्सर र प्रतिरोधी क्षमता कम गर्ने अन्य रोग भएका व्यक्तिमा भ्याक्सिनको दुइटै डोजले कोभिडविरुद्ध प्रतिरोधी क्षमता बढाउन नसकेको अध्ययनले देखाएको छ । स्वास्थ्यसम्बन्धी म्यागजिन जामाले प्रकाशित गरेको एक अध्ययनले अंग प्रत्यारोपण गरेका ४६ प्रतिशतमा एमआरएनए भ्याक्सिनको कुनै पनि प्रभाव नपरेको उल्लेख गरेको छ । अन्यमा दुवै डोजपछि सामान्य इम्युन क्षमता बढेको बताइएको छ । न्यु इंग्ल्यान्ड जर्नल अफ मेडिसिनले तेस्रो डोज पनि लगाएका इम्युनोकम्प्रमाइज्डहरूमा भने केही सुधार भएको उल्लेख गरेको छ । तर, उक्त अध्ययनले तेस्रो डोजसमेत सबै व्यक्तिमा प्रभाव नदेखिएको जनाएको छ ।

यस्तै, अमेरिकालगायतका केही देशमा कोरोनाको तेस्रो लहर आउने सम्भावना निकै नजिक रहेको भन्दै भ्याक्सिनको प्रयोगमा जोड दिन थालिएको छ । योसँगै भ्याक्सिनको तेस्रो डोजको पूर्वतयारी आवश्यक रहेको सिडिसीले बताएको छ । यस्तै, एस्ट्राजेनेका खोप उत्पादन कम्पनीले समेत हाल प्रयोगमा आइरहेको दुई डोजको प्रभावकारिताको म्याद हेरेर थप डोजका लागि तयार रहेको जनाएको छ । कम्पनीका कार्यकारी निर्देशक पास्कल सोरियोटले खोपको दोस्रो डोज अर्को वर्षको मार्चदेखि अप्रिलसम्ममा लगाइसक्ने भएकाले बुस्टरका लागि अझै समय रहेको बताएका छन् । यद्यपि, बुस्टर खोपका लागि हालसम्म स्वीकृति भने दिइएको छैन ।

सम्बन्धित समाचार